
अन्नपुर्ण, कास्की । अन्नपुर्ण गाउँपालिका कास्कीको काँडे, भदौरे र सल्यानलाई जोड्ने महत्वपूर्ण सडक खण्डमा आज बृहत् सरसफाई तथा श्रमदान कार्यक्रम सम्पन्न गरिएको छ। स्थानीयवासीको सक्रिय पहलमा गरिएको कार्यक्रममा सडकमा जमेको फोहोर सफा गर्ने, झाडी हटाउने तथा बाटोमा रहेका ढुङ्गा–ढिस्को पन्छाउने कार्य गरिएको अन्नपुर्ण गाउँपालिका-४ का वडाध्यक्ष आइन्दल गुरुङले जनाए।
कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष विष्णुबहादुर केसीले यस्ता जनसहभागितामूलक कार्यक्रम अन्य वडाहरूमा पनि प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले सामूहिक श्रमदानले सार्वजनिक सम्पत्तिको संरक्षण तथा मर्मतप्रति स्थानीयमा अपनत्व र दायित्वबोध बढाउन मद्दत गर्ने कुरा बताए थिए ।
स्थानीय नेतृत्व र समुदायको एकीकृत प्रयासले सडक खण्ड सफा भएपछि यात्रुहरूको आवागमन सहज हुनुका साथै समुदायमा एकता, सामाजिक सद्भाव र श्रम संस्कृतिको विकासमा समेत योगदान पुगेको वडाध्यक्ष गुरुङले बताए। उनका अनुसार कार्यक्रममा सयौँ स्थानीय बासिन्दा, युवा क्लब, आमा समूह, टोल सुधार समिति, जनप्रतिनिधि तथा वडा कार्यालयका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमपछि आयोजित सभामा विभिन्न टोलका संयोजकहरूले सक्रिय सहभागिताका लागि सबै स्थानीयवासीप्रति धन्यवाद व्यक्त गरेका थिए भने वडा सदस्य विजय गुरुङले निःस्वार्थ श्रमदान गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै वडाको विकास निर्माणमा निरन्तर हातेमालो गर्न आग्रह गरे।






सम्बन्धित खवर
















