कांग्रेस गण्डकीको दबाब : मंसिरभित्रै महाधिवेशन गर्न माग, पाँच बुँदे प्रस्ताव सार्वजनिक

पोखरा – नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको नियमित महाधिवेशन मंसिर महिनाभित्र नै सम्पन्न गर्नुपर्ने आग्रह गर्दै केन्द्रीय नेतृत्वलाई औपचारिक रूपमा दबाब दिएको छ। कात्तिक २९ गते शनिवार पोखरामा बसेको प्रदेश कार्यसमितिको विस्तारित बैठकले पछिल्लो राजनीतिक अवस्थालाई गम्भीर समीक्षा गर्दै पाँच बुँदे प्रस्ताव पारित गरेको छ।
बैठकमा सहभागी ११ जिल्लाका प्रतिनिधिहरूले केन्द्रीय कार्यसमिति नै महाधिवेशन गर्न तयार नदेखिएको कारण प्रदेशले अग्रसर भएर माग उठाउनुपरेको निष्कर्ष निकालेको हो । सभापति शुक्रराज शर्माले पछिल्ला वर्षमा कांग्रेसले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै “पार्टीले जनतासँग फेरि एकपटक माफी माग्दै आत्मसमीक्षाको बाटो लिनैपर्छ” भनेर स्पष्ट सन्देश दिएका छन् । शर्माका अनुसार सरकार निर्माण, चुनावी तालमेल र राजनीतिक संयोजनमा निरन्तर उपस्थित भएकासँगै पनि पार्टीले जनतामा ठोस परिणाम दिन नसक्दा विश्वास कमजोर बन्दै गएको छ।
बैठकले भदौ २३–२४ मा काठमाडौंमा जेन्जी प्रदर्शनका दौरान भएका आक्रमण, तोडफोड तथा झडपलाई ‘अमानवीय’ भन्दै कडा शब्दमा भत्र्सना गरेको छ। घाइतेप्रति सहानुभूति प्रकट गर्दै यस्ता घटना पुनः नदोहोरिन प्रदेश नेतृत्वले अपिल गरेको छ। काठमाडौंका प्रदर्शनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेतामाथि भएको आक्रमण, पार्टी कार्यालयमा क्षति र सार्वजनिक/निजी सम्पत्तिमा भएको तोडफोडप्रति पनि बैठकले गम्भीर आपत्ति जनाएको छ।
गण्डकी प्रदेश समितिले कांग्रेस संगठन समयअनुकूल परिमार्जन हुन नसक्दा कार्यकर्ता र आम जनतामा निराशा बढ्दै गएको निष्कर्ष निकालेको छ। प्रस्तावमा भनिएको छ, “अब एक पटक फेरि जनतासँग माफी माग्दै आत्मालोचनासहित सुधारतर्फ फर्किनैपर्छ।” बैठकका सहभागी नेताहरूले पार्टीभित्र बढ्दो असन्तुष्टि, नेतृत्वप्रतिको अविश्वास र निर्णय गर्न नसक्ने प्रवृत्तिले संगठन कमजोर हुँदै गएको चेतावनी दिएका छन्।
केन्द्रीय कार्यसमितिको कार्यकाल सकिएर पनि महाधिवेशन वा विशेष महाधिवेशन नबोलाइएकोमा बैठकले कडा प्रतिक्रिया जनाउँदै केन्द्रीय नेतृत्वलाई तत्काल निर्णय लिन आग्रह गरेको छ। महामन्त्री किरणबाबु श्रेष्ठका अनुसार, “केन्द्रीय कार्यसमिति तयारी अवस्थामा नआएकै कारण प्रदेशले औपचारिक रूपमा दबाब दिनुपर्ने स्थिति बन्यो।”
गण्डकी प्रदेशको पाँच बुँदे प्रस्ताव
गण्डकी प्रदेश समितिले पारित गरेको पाँच बुँदे प्रस्तावमा निम्न माग तथा धारणा प्रस्तुत गरिएको छः
१. जनजागरण प्रदर्शनका क्रममा भएका झडप र आक्रमणप्रति दुःख व्यक्त गर्दै घाइतेप्रति सहानुभूति
२. सभापति देउवा तथा नेताहरूमाथि भएको आक्रमण र सम्पत्तिमा भएको तोडफोडको कडा भत्र्सना
३. पार्टीले आत्मालोचना गर्दै सुधारको बाटो लिन अपिल
४. जनतामा बढ्दो अविश्वासप्रति चिन्ता
५. कार्यसमितिको कार्यकाल सकिएर पनि महाधिवेशन नथालिएको विषयलाई ‘गम्भीर कमजोरी’को रूपमा उठान र मंसिर महिनाभित्र महाधिवेशन गर्नुपर्ने माग। सम्भव नभए ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन आव्हान गर्न र तयारी गर्न प्रस्ताव गरेको छ ।
बैठकले पार्टीभित्रको विवाद, नेताबीचको दूरी र संगठनात्मक कमजोरिले कांग्रेसको लोकतान्त्रिक विरासत नै प्रभावित भइरहेको चेतावनी दिएको छर गण्डकी प्रदेशले पार्टी एकता, संगठन सुदृढीकरण र जनताको भरोसा पुनःस्थापना गर्न सबै तहका नेता–कार्यकर्ता एकजुट हुन आह्वान गरेको छ। पाँच बुँदे प्रस्तावको पूर्ण पाठ









सम्बन्धित खवर
















