12Shares

पोखरा।  तेस्रो संस्करणको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ शनिबार पोखरा महानगरपालिका–१३ स्थित आर्बा विजय डाँडामा सम्पन्न भएको छ। तीन दिनसम्म चलेको प्रतियोगितामा जर्मनी, सिङ्गापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमान, अमेरिका र नेपालसहित ८ देशका ४५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

रेस निर्देशक सुनिलचन्द्र शर्माका अनुसार ५ किलोमिटर ३६३ मिटर दूरीका ६ ट्रेलमार्फत प्रतियोगिता सञ्चालन गरिएको थियो। मास्टर्स ‘ए’ (३०–३९ वर्ष) समूहमा नेपालका राजन भण्डारी १४ मिनेट ०५ मिलिसेकेन्डमा दूरी पार गर्दै विजेता बने। अस्ट्रेलियाका स्टेफन विलियम्स दोस्रो र नेपालकै मुनेश घले तेस्रो भए।

मास्टर्स ‘बी’ मा नेपालका शक्ति गुन्सेकर १६ मिनेट १७ सेकेन्ड ३७ मिलिसेकेन्डमा पहिलो भए। त्यस्तै रवि कार्की दोस्रो र प्रयास तामाङ तेस्रो बने। जुनियर समूहमा प्रसन्न महर्जन पहिलो, दिप्सन थापा दोस्रो र स्वप्निल रायमाझी तेस्रो भए। खुला महिलातर्फ लक्ष्मी मगर २० मिनेट ०१ सेकेन्ड ८० मिलिसेकेन्डमा विजेता बनिन् भने कृपा डंगोल दोस्रो भइन्।

सबैभन्दा प्रतिस्पर्धात्मक इलिट समूहमा नेपालका हिकमत बिक १३ मिनेट ०९ सेकेन्ड ७४ मिलिसेकेन्डमा दूरी पार गर्दै पहिलो भए। तेन्जिङ गुरुङ दोस्रो र अनिल बिक तेस्रो बने। ५० वर्षमाथिको भेट्रान्समा भने थाइल्याण्डका मार्क डटी विजेता बने। नेपालका मिङ्गुर दोर्जे शेर्पा र अनिल बास्कोटा क्रमशः दोस्रो र तेस्रो भए।

समुन्द्री सतहबाट १३६० मिटर उचाइमा रहेको आर्वा–विजय डाँडामा डन टिल डस्कले सन् २०२० देखि ट्रेल निर्माण र पूर्वाधार तयार गर्दै आएको छ। यसअघि २०८० र २०८१ मा पनि इन्डुरो रेस सम्पन्न भइसकेको थियो। आयोजकका अनुसार यस प्रतियोगिताले विश्वभरका माउन्टेन बाइक प्रेमीलाई आकर्षित गर्दै नेपालको साहसिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ।

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected