
अन्नपुर्ण, कास्की। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदलाई शारीरिक विकाससँगै मानसिक स्वास्थ्यका लागि पनि अत्यावश्यक भएको बताउनुभएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विद्यार्थीलाई उत्साह दिन प्रमुख अतिथिका रूपमा उपस्थित हुँदै उहाँले खेलकुदले युवाहरूको शरीर र मस्तिष्क दुवैको विकासमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो।
प्रदेश प्रमुख भट्टका अनुसार गाउँस्तरबाटै खेलकुदमार्फत खेलाडी छनोट भई जिल्ला, प्रदेश हुँदै केन्द्रीय स्तरसम्म प्रतिस्पर्धा गर्ने प्रकृयाले खेलकुदको संरचना थप सुदृढ बनेको छ। “गाउँ तहबाटै विद्यार्थीले सहभागी हुने मौका पाउँदा हजारौँ बालबालिकाले खेलकुदमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त गरेका छन्,” उहाँले भन्नुभयो।
यस प्रतियोगिताले दूरदराज क्षेत्रबाट समेत प्रतिभाशाली खेलाडी उत्पादनमा मद्दत पुर्याएको साथै स्थानीय खेलकुदको प्रवर्द्धनमा उल्लेखनीय योगदान पु¥याएको प्रदेश प्रमुख भट्टको भनाइ थियो।
उहाँका अनुसार रनिङ शिल्डजस्ता प्रतियोगिताले युवा विद्यार्थीमा जोश–जाँगर र आत्मबल थप्ने मात्र होइन, विद्यार्थी, गाउँबासी र जनप्रतिनिधिबीचको सम्बन्ध पनि प्रगाढ बनाउन सहयोग पुर्याएको छ। युवा पुस्ताको खेलकुदमा सक्रियता स्वास्थ्यसम्बन्धी जीवनशैली अंगाल्न प्रेरित गर्ने तथा सकारात्मक शारीरिक प्रभाव पनि देखिने उहाँको भनाइ थियो।
प्रदेश प्रमुख भट्टले सानै उमेरदेखि खेलकौशल विकास गर्न सके भविष्यमा सम्भावनायुक्त, अनुशासित तथा नेतृत्व क्षमतायुक्त व्यक्तित्व बन्न मद्दत पुग्ने बताउनुभयो। “युवाले खेललाई माध्यम बनाउन सक्छन्, जसले आत्मसम्मान बढाउनेदेखि सामाजिक सीप विकाससम्ममा महत्वपूर्ण भूमिका खेल्छ,” उहाँले जोड दिनुभयो।
शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रवक्ता भरतमान गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि बराल लगायतले पनि शुभकामना व्यक्त गरेका थिए।











