सामाजिक उत्तरदायित्वमा अग्रसर मुक्तिनाथ बैंक, स्याङ्जामा विद्यार्थीलाई न्यानो पोशाक
- November 21, 2025
- 1521

स्याङ्जा — मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्याङ्जाको पुतलीबजार नगरपालिका–५, पौवैगौडास्थित शितला माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। आर्थिक रूपमा कमजोर तर अध्ययनमा उत्कृष्ट झन्डै १४५ विद्यार्थीलाई करिब डेढ लाख रुपैयाँबराबरका न्यानो पोशाक प्रदान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा बैंकका सञ्चालक भरतप्रसाद लम्सालले मुक्तिनाथ बैंक ग्राहक, समुदाय र कार्यक्षेत्रसँग हातेमालो गर्दै अघि बढ्ने संस्थागत प्रतिवद्धता व्यक्त गरेका छन् । “बैंकलाई उचाइमा पु¥याउन समाजका हरेक नागरिकको समान भूमिका हुन्छ,” उनले भने, “त्यसैले हामी गरिब, जेहेन्दार र मेहनती वर्गको उत्थानमा निरन्तर सहकार्य गरिरहेका छौँ।”
उप–क्षेत्रीय कार्यालय स्याङ्जाका प्रमुख ऋषि ढकालले बैंकले समयानुकूल सेवा विस्तारसँगै सामाजिक क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको बताए। उनका अनुसार मुक्तिनाथ बैंक समाजका प्रत्येक वर्गको प्रगति र सशक्तीकरणमा साझेदार बन्न चाहन्छ।
यसै अवसरमा विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूको पहलमा करिब १० हजार रुपैयाँ बराबरका खेलकुद सामग्रीहरु भलिबल, नेट लगायत विद्यालयलाई हस्तान्तरण गरिएको थियो। खेलकुद सामग्री पूर्वविद्यार्थी तथा बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङको अगुवाइमा खरिद गरिएको हो। पूर्वविद्यार्थी तथा युवा समाजसेवी दिपेन्द्र आलेले सामग्री हस्तान्तरण सम्बन्धी जानकारी दिए।
न्यानो कपडा वितरण कार्यक्रम वडाध्यक्ष अर्जुनकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। विद्यालयका प्रधानाध्यापक बलराम दोरङ्गाले स्वागत मन्तव्य दिएका थिए भने शिक्षिका अप्सरा कार्की गोदारले कार्यक्रप्रत संचालन गरेकी थिइन्। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक संघका प्रतिनिधि तथा अभिभावकहरूको सहभागीता उल्लेखनीय थियो।
२०६३ सालदेखि स्याङ्जामा कारोबार विस्तार गरेको मुक्तिनाथ विकास बैंक छोटो अवधिमै राष्ट्रिय स्तरका उत्कृष्ट बैंकमध्ये एक बनेको छ। चुक्ता पुँजी ९ अर्ब नाघेसँगै बैंक वाणिज्य बैंकमा रूपान्तरण हुने प्रक्रियामा अघि बढिरहेको छ।














