एनटिभिए गण्डकीको आन्तरिक पर्यटन प्रवद्र्धन अभियान पोखरादेखि ढोरपाटनसम्म

पोखरा, २४ मङ्सिर । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले आजदेखि पोखरादेखि ढोरपाटनसम्म लक्षित आन्तरिक पर्यटन प्रवद्र्धन अभियान सुरु गरेको छ। संघका अध्यक्ष दुर्गादत्त दाहालका अनुसार बाग्लुङ, बुर्तिबाङ हुँदै ढोरपाटनसम्मका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार गर्ने उद्देश्यले तीनदिने कार्यक्रम सञ्चालन गरिएको हो।
यस अभियानमा संघका सदस्यसहित पोखरामा क्रियाशील पर्यटन–सम्बद्ध विभिन्न संस्थाका पदाधिकारी, सञ्चारकर्मी गरी ४५ जनाको सहभागिता रहेको छ। प्रवद्र्धन टोलीलाई पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपि बहादुर भट्टराई र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले आज बिहान औपचारिक विदाइ गरेका थिए।
कार्यक्रमका संयोजक तथा संघका प्रथम उपाध्यक्ष रविप्रसाद आचार्यका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा आज बाग्लुङमा अभिमुखीकरण तालिम सञ्चालन हुने छ। तालिम कास्कीको घान्द्रुक, बाग्लुङ, म्याग्दी र पर्वतका यातायात व्यवसायी, चालक तथा सहचालकलाई लक्षित हुनेछ।
यस्तै, शुक्रबार ढोरपाटनमा स्थानीय पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारी, आन्तरिक पर्यटन विकास, छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ। प्रवद्र्धन टोली मङ्सिर २६ गते पोखरा फर्किने एनटिभिए गण्डकी प्रदेशले जनाएको छ।






सम्बन्धित खवर
















