
लेखनाथ, मंसिर २४। पुस ३ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने २१औँ लेखनाथ महोत्सवमा दर्शकहरूले रु ५० को टिकट खरिदमा रु १०० बराबरको फाइदा पाउने भएका छन्। आयोजकले अनलाइन सपिङ प्लेटफर्म पसल डट कमको सहकार्यमा दर्शकहरूको हितका लागि यस्तो आकर्षक अफर सार्वजनिक गरेको हो।
टिकट बिक्री व्यवस्थापन उपसमितिका संयोजक सुजन न्यौपानेका अनुसार दर्शकहरूले खरिद गरेको रु ५०, १०० वा २०० टिकटको अर्धकट्टी महोत्सवभित्र रहेको पसल डट कमको स्टलमा प्रस्तुत गरेपछि एक क्यूआर कोड प्राप्त गर्नेछन्। त्यसपछि मोबाइलमा प्ले–स्टोरमार्फत पसल डट कमको एप डाउनलोड गरी सोही एपमा रहेको स्क्यानर प्रयोग गरेर क्यूआर कोड स्क्यान गरेपछि दर्शकले रु १०० बराबरको क्रेडिट प्राप्त गर्न सक्नेछन्।
प्राप्त क्यूआर कोडमार्फत प्रत्येक एप–युजरले महोत्सव अवधिभर दिनमा एक पटक मात्र क्रेडिटमा रूपान्तरण गर्न सक्नेछन्। यस्तै, एपमार्फत जम्मा भएको क्रेडिट प्रयोग गरेर न्यूनतम रु ५०० बराबरको प्रत्येक खरिद अर्डरमा रु २० का दरले जुनसुकै समयमा छुट पाउन सकिने पसल डट कमका प्रबन्धक यशस्वी तिवारीले बताए।
लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीका अनुसार महोत्सवमा पहिलोपटक यस्तो प्रकारको अफर ल्याइएको हो। उनका अनुसार यसले दर्शकलाई प्रत्यक्ष लाभ हुने र टिकट बिक्रीमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। यस वर्ष महोत्सवको टिकट घर तथा मुख्य टिकट छपाइको प्रायोजन पनि पसल डट कमले गरेको छ।
आयोजकले महोत्सव अवलोकनका लागि विद्यार्थीलाई परिचयपत्रका आधारमा रु ५०, सर्वसाधारणका लागि रु १००, र बेलुकाको सांगीतिक कार्यक्रमका लागि रु २०० टिकट दर निर्धारण गरेको छ।





सम्बन्धित खवर
















