1Shares

स्याङजा — स्याङजाको कोल्मा बराहचौरमा पुस ८ गते छैटौँ राष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिता हुने भएको छ। गाउँवासी विदेशिने क्रम बढ्दै गाउँका बस्तीहरू सुनसान बन्दै गएको अवस्थामा ग्रामीण विकास, लोकसंस्कृति संरक्षण र खेलकुद–पर्यटन प्रवर्द्धनलाई लक्षित गरी सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले प्रतियोगिताको तयारी पूरा गरेको जनाएको छ।

मञ्चका अध्यक्ष दुतप्रसाद गुरुङका अनुसार चारथुम र सात सय कोल्मा क्षेत्रका स्थानीयहरू हङकङ, बेलायत, जापान, जर्मनी, अमेरिका तथा देशका विभिन्न शहरमा बसोबास गर्ने भएकाले गाउँसँग सम्बन्ध पुनः मजबुत बनाउन र गाउँ विकासका कार्यक्रमलाई निरन्तरता दिन छ वर्षदेखि राष्ट्रिय स्तरको दौड आयोजना हुँदै आएको छ।

यस वर्षको कार्यक्रम अन्तर्गत क्रस–कन्ट्री दौडसँगै लोक संस्कृतिको प्रस्तुति, होमस्टे साँझ तथा स्थानीय उत्पादकत्व र संस्कृतिलाई उजागर गर्ने थप गतिविधिहरू पनि समावेश गरिएको मञ्चले बताएको छ। “खेलकुद र पर्यटनको माध्यमबाट गाउँको आर्थिक र सामाजिक विकासलाई गति दिन सकिन्छ,” अध्यक्ष गुरुङले भने।

प्रतियोगितामा खुला पुरुष/महिला — २५ किमी, खुला महिला — १० किमी, २१ वर्षमुनि पुरुष — १० किमी, विद्यार्थी छात्र — ५ किमी, विद्यार्थी छात्रा — ५ किमी, ३० वर्षमाथिका महिलाः लुङ्गी ड्रेस ‘रन फर फन’लगाएतका दौड हुनेछन।

जसमध्ये २५ किमी : कोल्मा बराहचौर → काहुले → डाँडा स्वारा → नाम्चे → काल्खु → खल्लुवोट → बिसाउना → खुदी → मड्किना → कोल्मा बराहचौर, १० किमी : कोल्मा बराहचौर → काहुले → ज्यामिरे → भैसेगौडा → राङभाङ → फिर्ता, ५ किमी : कोल्मा बराहचौर → पोखरीछाप → बासपानी → रामचौतारा → फिर्तारुट निर्धारण गरिएको छ।

दौड प्रतियोगिताको पुरस्कार राशिमा २५ किमी (खुला पुरुष/महिला): प्रथम: रु ५०,०००, द्वितीय: रु ४०,००० र तृतीय: रु ३०,००० रुपैया रहेको छ।  १० किमी (खुला महिला/२१ वर्षमुनि पुरुष): प्रथम: रु २०,०००, द्वितीय: रु १५,000 र तृतीय: रु १०,000 रहेको छ भने  विद्यार्थी ५ किमी (छात्र/छात्रा): प्रथम: रु ८,000, द्वितीय: रु ५,000 र तृतीय: रु ३,000 रहेको आयोजकले जनाएको छ।

त्यस्तै लुङ्गी ड्रेस दौड (३० वर्षमाथि महिला): प्रथम: रु ५,000, द्वितीय: रु ३,000 र  तृतीय: रु २,000 रहेको छ भने सबै विधामा १० औँ स्थानसम्म नगद, मेडल र प्रमाणपत्र पुरस्कृत हुनेछ। साथै २५ किमी दौडमा सात सय कोल्मा बहाकोट क्षेत्रका उत्कृष्ट खेलाडीलाई विशेष प्रोत्साहन पुरस्कारस्वरूप रु ५,००० प्रदान गरिनेछ।

कार्यक्रमलाई सफल बनाउन कोल्मा बहाकोट समाज यूके, यूके आमा समूह, गण्डकी प्रदेश खेलकुद परिषद, पुतलीबजार तथा शुक्लागण्डकी नगरपालिका, सम्पर्क मञ्च विदेश विभाग, स्याङजा सहयोग समाज, स्थानीय सरकार, युवा क्लब, खेल संघ, स्वयंसेवक तथा सुरक्षा निकायको उल्लेख्य सहयोग रहेको मञ्चका महासचिव जीवन पोख्रेलले जानकारी दिए।

1Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected