
पोखरा। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आर, नेपाल भारतको अहमदाबादमा सम्पन्न ५३औं इशामे एरिया फोरममा उत्कृष्ट डिष्ट्रिक्टका रूपमा सम्मानित भएको छ। लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष ए.पी. सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा डिष्ट्रिक्ट गभर्नर नबराज सापकोटा डिष्ट्रिक्ट ३२५ आर, नेपालको प्रतिनिधित्व गर्दै सम्मानित भएका हुन् ।
डिष्ट्रिक्ट ३२५ आर नेपालले लायन्स अन्तर्राष्ट्रियको मिसन १.५ अन्तर्गत १११२ नयाँ सदस्य भित्र्याउँदै सदस्यता वृद्धिमा उत्कृष्ट स्थान हासिल गरेको हो । सदस्यता रिक्रुटमेन्ट टार्गेट सम्बन्धी प्रतिबद्धताको ८२ प्रतिशत लक्ष्य पूरा गर्दै डिष्ट्रिक्टले आफ्नो उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेको डिष्ट्रिक्ट गभर्नर नबराज सापकोटाले पोखराभ्यूजलाइ बताए ।

“टुगेदर वी मेक चेन्ज (Together We Make Change)” भन्ने मूल नारालाई आत्मसात गर्दै डिष्ट्रिक्ट ३२५ आरले सेवामुखी नेतृत्व, संगठनात्मक अनुशासन, सदस्यता विस्तार तथा नयाँ क्लब स्थापनामा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको सापकोटाले जनाए । सामाजिक सेवाका प्रभावशाली कार्यक्रम, सशक्त नेतृत्व विकास र दिगो संगठन निर्माणमार्फत नेपालको लायन्स अन्तर्राष्ट्रियमा पहिचान सुदृढ भएको अन्तर्राष्ट्रिय मञ्चमा उच्च मूल्यांकन गरिएको उनको भनाइ थियो ।
डिष्ट्रिक्ट गभर्नर सापकोटाले यस उपलब्धिलाई सामूहिक प्रयासको नतिजा भएको बताउँदै, आगामी दिनमा सेवाको दायरा विस्तार, संगठनलाई थप बलियो र दिगो बनाउने तथा नयाँ पुस्ताका सक्षम लायन नेतृत्व विकासमा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै यस सफलतामा क्लब अध्यक्षहरू, क्याबिनेट अफिसरहरू र अग्रज लायन लिडरहरूको योगदान उल्लेखनीय रहेको बताए।











