डिजिटल मिडिया नै अबको नयाँ मूलधार, सरकारबाट दर्ता र सूचीकरण हुँदैछ-संचार मन्त्री खरेल
- December 28, 2025
- 1863

पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अनलाइन न्युज पोर्टल, युट्युब र डिजिटल मिडियाहरू नै अब देशको नयाँ मूलधारको मिडिया भएको स्पष्ट पारेका छन्। आइतबार पोखरामा सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा बोल्दै उनले डिजिटल मिडियालाई हेप्ने प्रवृत्ति गलत भएको उल्लेख गर्दै सरकारले अब औपचारिक रूपमा डिजिटल मिडियालाई मान्यता दिन थालेको बताए।
‘कसैले युट्युबे वा फलाना भनेर हेप्छ भने त्यो गलत हो,’ मन्त्री खरेलले भने, ‘अब सरकारले डिजिटल मिडियालाई रिकग्नाइज गर्छ। नियमावली संशोधन गरेर दर्ता र सूचीकरणको प्रक्रियामा ल्याउँदैछौँ।’ समय र प्रविधि परिवर्तन भइसकेकाले अब न्यू मिडियालाई नजरअन्दाज गर्न नसकिने उनको भनाइ थियो।
मन्त्री खरेलले मुलुक अहिले परिवर्तनको मोडमा रहेको उल्लेख गर्दै जेनजीको भावना र अपेक्षाअनुसार मुलुक र समाजलाई अगाडि बढाउनु आजको आवश्यकता भएको बताए। उनले दलका नेताको दास बनेर होइन, विचार र दृष्टिकोणका आधारमा नेतृत्व छान्न नागरिकलाई आग्रह गरे।
फरक सन्दर्भमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले मुलुक पूर्ण रूपमा निर्वाचनको दिशामा अघि बढिसकेको दाबी गरे। प्रमुख राजनीतिक दलहरूबीच निर्वाचनमा जाने विषयमा उच्चस्तरीय सहमति भइसकेको र सबै दल तयारीमा जुटिसकेको उनको भनाइ थियो। ‘आजको नयाँ बिहानीबाट मुलुक निर्वाचनमय भएको छ, अब कोही पनि पछि हट्ने अवस्था छैन,’ उनले भने।
उनले राजनीतिक दलहरू समानुपातिकतर्फका बन्द सूची तयार गर्न र गठबन्धन निर्माणमा जुटिसकेको जानकारी दिँदै फागुन २१ गतेपछि मुलुकको राजनीतिमा नयाँ आयाम स्थापित हुने विश्वास व्यक्त गरे। निर्वाचनमार्फत आउने नयाँ नेतृत्वले देशलाई विकास, समृद्धि र सुशासनको बाटोमा लैजाने उनले बताए।

सञ्चार क्षेत्रको वर्तमान अवस्थाबारे बोल्दै मन्त्री खरेलले नेपालमा आवश्यकता भन्दा बढी सञ्चारमाध्यम खुलेको र यसले सञ्चालनमा चुनौती थपिएको स्वीकार गरे। ‘देशमा करिब १५ हजार मिडिया छन्, यसले मिडिया कसरी टिक्ने भन्ने प्रश्न खडा गरेको छ,’ उनले भने। उनले सामग्रीलाई शक्तिशाली, तथ्यपरक र गहन बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्य सचिव डण्डुराज घिमिरेले प्रदेश सरकार सञ्चार क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए। उनले प्रदेशमा सञ्चार ऐन तथा नियमावली बनाएर प्रेस रजिस्ट्रार कार्यालय स्थापना भइसकेको जानकारी दिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल र महासंघ कास्कीका अध्यक्ष माधव बरालले पनि आफ्ना धारणा राखेका थिए। कार्यक्रममा मन्त्रालयका सहसचिव उदयबहादुर रानामगर, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले कार्यपत्र प्रस्तुत गरेका थिए।








