
पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको उपाध्यक्ष पदमा मनोहरि पौडेल चयन भएका छन्। एसोसियसनको १४औँ अधिवेशनमा उपाध्यक्षका उम्मेदवार राजु केसीको उम्मेदवारी एसोसियसनको विधानअनुसार योग्य नठहरिएपछि जिल्ला प्रशासन कार्यालय कास्कीको निर्णय, टिप्पणी र आदेशअनुसार खारेज गरिएको थियो । त्यसपछि एसोसियसनको विधान २०५६ को धारा ३१ अनुसार मनोहरि पौडेललाई उपाध्यक्ष पदमा चयन गरिएको एसोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरले जानकारी दिए ।
यसअघि एसोसियसनका प्रवक्ता समेत रहिसकेका पौडेल हाल पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य रहेका छन् । साथै उनी त्रिलोकेश्वर शिव मन्दिर, पोखरा–२८ का अध्यक्ष, सुर्केमैदान सृजनशील क्लब कालिकाका संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीको प्रदेश परिषद् सदस्य तथा नेपालय न्युज डटकमका सह–सम्पादक समेत रहेका छन् ।
उपाध्यक्ष पदमा चयन भएपछि पौडेलले नियम, कानुन र विधानको सधैँ सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । निर्वाचनका क्रममा निर्वाचन समितिका संयोजकबाट आफूलाई पूर्वाग्रही ढंगले अन्याय गरिएको भए पनि एसोसियसनको विधानअनुसार जिल्ला प्रशासन कार्यालय कास्कीले न्याय दिएकोमा उनले आभार प्रकट गरे । उनले उपाध्यक्षको जिम्मेवारीमा रहँदा संस्थागत विकास र बुद्ध विशाल बजारका व्यवसायीहरूको हकहितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।
हालै सम्पन्न बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २७औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनले अध्यक्षमा बुद्धिबहादुर कुँवर, महासचिवमा थमनसिंह गुरुङ, सचिवमा शान्ति श्रेष्ठ, कोषाध्यक्षमा गोविन्द दाहाल तथा सदस्यहरूमा कृष्ण कुँवर, अनु थापा, शम्भु खत्री, सञ्जय श्रेष्ठ, प्रकाश पौडेल, दिनेश गुरुङ, इन्द्रमाया गुरुङ र लक्ष्मण आचार्यलाई निर्वाचित गरिसकेको छ ।









