
पोखरा । पोखरा वर्ल्ड स्कूलको २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका–५, प्रस्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार बिमला भण्डारी, पोखरा महानगरपालिका–५ का वडाध्यक्ष विष्णु प्रसाद बराल, मन्टेश्वरी एसोसिएसन कास्कीका अध्यक्ष ऋतु पौडेललगायत विद्यालय परिवार, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शर्माले विद्यालयले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिएकोमा प्रशंसा गर्दै बालबालिकाको सर्वाङ्गीण विकासका लागि मन्टेश्वरी शिक्षण पद्धतिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताइन् । उनले अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीचको सहकार्यबाट मात्रै शैक्षिक लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरिन् ।
त्यसैगरी गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार बिमला भण्डारीले विद्यालयले अवलम्बन गरेको मन्टेश्वरी शिक्षण विधिको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सफल हुने विश्वास व्यक्त गरिन् ।
अभिभावक तथा अल्फा बोर्डिङ स्कूलका सह–प्राचार्य कृष्ण लम्सालले वर्तमान शिक्षा प्रणाली विद्यार्थीको रुचि र क्षमतामा आधारित आत्मनिर्देशित सिकाइ प्रणालीतर्फ उन्मुख हुँदै गएको उल्लेख गरे । उनले यस विधिमार्फत बालबालिकाले इन्द्रियहरूको प्रयोग गर्दै खेल, प्रयोग र अन्वेषणका माध्यमबाट सिक्ने अवसर प्राप्त गर्ने बताए ।
विद्यालयका प्रिन्सिपल मिलन थापा केसीले विद्यार्थी केन्द्रित सिकाइ, व्यवहारिक ज्ञान तथा सिर्जनात्मक क्षमताको विकासमा विद्यालय निरन्तर क्रियाशील रहेको जानकारी दिएकी थिईन। उनले गुणस्तरीय, बालमैत्री तथा व्यवहारिक शिक्षा प्रदान गर्ने विद्यालयको प्रतिबद्धता दोहोर्याइन् ।
त्यस्तै विद्यालयका डाइरेक्टर मोनिका थापाले बालबालिकाको रुचि, क्षमता र आवश्यकताअनुसार उपयुक्त सिकाइ वातावरण तयार गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताइन् ।
उत्सवका अवसरमा विभिन्न कक्षाका विद्यार्थीहरूले नृत्य, गीत तथा नाटक प्रस्तुत गरी उपस्थित अभिभावकहरूलाई मन्त्रमुग्ध बनाएका थिए । साथै विद्यालयमा दीर्घकालीन योगदान पुर्याएका कर्मचारीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो ।






सम्बन्धित खवर














