63Shares

पोखरा, २६ पुस । पोखरा महानगरपालिका–२४, गुन्टेचौर अवस्थित श्री सिद्ध बराह आधारभूत विद्यालयले स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा हीरक जयन्ती महोत्सव–२०८२/८३आयोजना गर्ने भएको छ।

विद्यालयले शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी सार्वजनिक गरेको हो। वि.सं. २०२३ सालमा स्थानीय समुदायको सामूहिक प्रयास, जागरणशीलता र शिक्षाप्रतिको गहिरो प्रतिबद्धताबाट स्थापना भएको यस विद्यालयले ६ दशकको अवधिमा हजारौँ विद्यार्थी उत्पादन गरिसकेको विद्यालयले जनाएको छ।

विद्यालयको ऐतिहासिक पृष्ठभूमि, शैक्षिक योगदान र सामाजिक प्रभावलाई उजागर गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष काशीराम सुबेदीको भनाइ छ। महोत्सवको मूल लक्ष्य समावेशी, गुणस्तरीय, प्रविधिमैत्री तथा समुदाय केन्द्रित शिक्षा प्रदान गर्दै विद्यालयलाई राष्ट्रिय नमुना आधारभूत विद्यालयको रूपमा विकास गर्नु रहेको छ।

अध्यक्ष सुवेदीका अनुसार हीरक जयन्ती महोत्सव एक वर्षसम्म सञ्चालन हुनेछ। यस अवधिमा विद्यालयको इतिहास संकलन तथा प्रकाशन, शैक्षिक गोष्ठी, शिक्षक तालिम, विज्ञान, कला, साहित्य तथा खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, भौतिक पूर्वाधार सुधार, पूर्व विद्यार्थी तथा पूर्व शिक्षक पुनर्मिलन, सम्मान तथा पुरस्कार वितरणलगायत कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ।

महोत्सवको औपचारिक उद्घाटन कार्यक्रम वि.सं. २०८२ माघ १० गते शनिबार बिहान ९:१५ बजेविद्यालय परिसरमा हुने छ। उद्घाटन समारोहमा विद्यार्थी प्रतिभा प्रदर्शन, सांस्कृतिक कार्यक्रम तथा नृत्य प्रस्तुति समावेश गरिने विधालयका प्रधानाध्यापक रिना शाहले बताईन।

महोत्सव सफल बनाउन स्थानीय सरकार, सञ्चार माध्यम, पूर्व विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्पूर्ण समुदायसँग सहकार्य र सहयोगको अपिल गरिएको छ। विद्यालयलाई वर्तमान सुधार र भविष्यको आशाको केन्द्र बनाउँदै स्थानीय तहकै नमुना शैक्षिक संस्था बनाउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

63Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected