2Shares

पोखरा । एसोसिएसन अफ एलायन्स क्लब अन्तर्राष्ट्रियका प्रेसिडेन्ट राजकुमार सक्सेनासहितको उच्चस्तरीय टोली पोखरा आइपुगेको छ। शुक्रबार पोखरामा आयोजना हुने एलायन्स क्लब डिष्ट्रिक १०५५ नेपालको शुभारम्भ तथा पदस्थापन कार्यक्रममा सहभागी हुन टोली बुधबार साँझ पोखरा आएको हो।

टोलीमा अन्तर्राष्ट्रिय प्रेसिडेन्ट सक्सेनासँगै फाउण्डर प्रेसिडेन्ट तिरुपति वुढाराजु, भाइस प्रेसिडेन्ट राजेश्वर राव तथा डिष्ट्रिक १०५ साउथ मल्टिपलका डिष्ट्रिक गभर्नर उषारानी अटलुरी सहभागी छन्। क्लबका प्रचार संयोजक पोषराज पौडेलका अनुसार टोलीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्तावित डिष्ट्रिक १०५५ का डिष्ट्रिक गभर्नर थिरबहादुर थापा, भाइस डिष्ट्रिक गभर्नर डा. लक्ष्मण तिमिल्सीना, सिष्टर क्लबका चार्टर प्रेसिडेन्ट कल्पना थापा, चार्टर प्रेसिडेन्ट तारा पोखरेल, पोखरा सिटी चार्टर प्रेसिडेन्ट कुन्दनराज शर्मा, घनश्याम ढुंगाना, शंकर खत्री, हरिबहादुर थापा, तोयानाथ अधिकारीलगायतले स्वागत गरेका थिए।

टोलीले बिहीबार पोखराका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूको भ्रमण गरेको छ। यस अवसरमा अन्तर्राष्ट्रिय प्रेसिडेन्ट सक्सेनाले पोखरालाई अद्भुत पर्यटकीय सहरको संज्ञा दिँदै एउटै स्थानमा प्राकृतिक, धार्मिक र सांस्कृतिक विविधता अवलोकन गर्न पाउँदा खुसी लागेको बताए। टोलीको भ्रमणले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास क्लबले लिएको छ।

भारतको नयाँ दिल्लीमा मुख्य कार्यालय रहेको एलायन्स क्लब अन्तर्राष्ट्रिय अन्तर्गत नेपालमा पहिलो पटक पूर्ण डिष्ट्रिकका रूपमा डिष्ट्रिक १०५५ गठन हुन लागेको हो। प्रस्तावित डिष्ट्रिक गभर्नर थिरबहादुर थापाका अनुसार शुक्रबार पस्र्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा हुने शुभारम्भ तथा पदस्थापन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। पोखराबाहिरका सदस्यहरू समेत पोखरा आइपुगेका छन्।

कार्यक्रममा काठमाडौं, तनहुँ, कास्की लगायतका क्षेत्रबाट एलायन्स क्लबका सदस्यहरूको उल्लेख्य सहभागिता रहनेछ। पोखरामा पहिलो पटक गठन भएको सो क्लबलाई डिष्ट्रिक १०५ साउथ मल्टिपलले स्पोन्सर गरेको हो।

मानवीय तथा सामाजिक सेवामा क्रियाशील एलायन्स क्लबले यस डिष्ट्रिकमार्फत पोखरामा करिब ४० वटा क्लब गठन गर्ने लक्ष्य लिएको पोखरा सिटी चार्टर प्रेसिडेन्ट कुन्दनराज शर्माले जानकारी दिए। क्लबले भारतका विभिन्न स्थानमा ज्येष्ठ नागरिक सेवा केन्द्र, क्यान्सर केयर अस्पताल, बालबालिका हेरचाह केन्द्रलगायतका सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected