
पोखरा। छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबलाई पाँच सेटको रोमाञ्चक खेलमा पराजित गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगिताअन्तर्गत शनिबारको अन्तिम खेलमा तीन पाकिस्तानी खेलाडी सम्मेलित पर्वतले पुलिसलाई ३–२ को सेटमा स्तब्ध पारेको हो।
पर्वतले पहिलो सेट २५–२२ र दोस्रो सेट ३१–२९ ले आफ्नो पक्षमा पारे पनि त्यसपछि लय गुमाउँदा खेल निर्णायक सेटसम्म पुगेको थियो। पुलिसले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले जित्दै पुनरागमन गरेको थियो। तर निर्णायक पाँचौँ सेटमा १५–१३ को संघर्षपूर्ण जित निकाल्दै पर्वतले खेल आफ्नो पक्षमा पार्यो।
यसअघि आजै महिलातर्फ भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्यो। पहिलो सेट २५–१६ ले आर्मीले जित निकाले पनि त्यसपछि सम्हालिन नसक्दा पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्यो।
महिलातर्फकै अर्को खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले थाइल्यान्ड क्विन्समाथि ३–२ को सेटमा रोमाञ्चक जित दर्ता गर्यो। एपीएफले पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जित निकालेपछि थाइल्यान्डले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ ले खेल बराबरीमा ल्याएको थियो। निर्णायक सेटमा सुरुआतदेखि नै अग्रता बनाएको एपीएफले १५–१३ ले खेल जित्यो।
पुरुषतर्फको अर्को खेलमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनमाथि ३–० को शानदार जित निकालेको छ। गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले जित हात पार्यो। यससँगै गण्डकीले प्रतियोगितामा पहिलो जित निकाल्दा माल्दिभ्सले दोस्रो हार बेहोर्यो।
च्याम्पियनसिपअन्तर्गत भोलि आइतबार चार खेल हुनेछन्। बिहान साढे ८ बजे महिलातर्फ एपीएफ र न्यू डायमण्ड भिड्नेछन्। त्यसपछि महिलातर्फ नै नेपाल पुलिस क्लब र थाइल्यान्ड क्विन्सबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ एपीएफ र पर्वत भलिबल संघ तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुने तालिका छ।
माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन्। सिंगल राउण्ड रोविनको आधारमा भइरहेको च्याम्पियनसिपमा शीर्ष दुई टोली उपाधिका लागि आमनेसामने हुनेछन्।






सम्बन्धित खवर
















