4Shares

पोखरा। छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) ले विजयी सुरुआत गरेका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी प्रतियोगितामा शनिबार भएका दुवै महिला खेल रोमाञ्चक बने ।

शनिबारको पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको छ । यससँगै आर्मीले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो सेट २५–१६ ले आर्मीले जित निकाले पनि त्यसपछि खेलमा फर्किन सकेन । पुलिसले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो । पुलिसकी एलिसा मानन्धर प्लेयर अफ द म्याच घोषित भइन् ।

शनिबारकै दोस्रो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले थाइल्यान्ड क्विन्समाथि ३–२ को रोमाञ्चक जित हात पार्यो । एपीएफले पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेपछि खेलमा पकड बनाएको थियो । तर थाइल्यान्ड क्विन्सले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ ले जित्दै खेललाई पाँचौं सेटमा पुर्‍यायो । निर्णायक पाँचौं सेटमा सुरुआतबाटै अग्रता लिएको एपीएफले १५–१३ ले जित निकाल्दै रोमाञ्चक सफलता हासिल गर्‍यो ।

महिलातर्फका खेलपछि अब पुरुषतर्फका खेलहरू सुरु हुनेछन् । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र माल्दिभ्स भलिबल एसोसिएसनबिच हुनेछ भने दोस्रो खेल नेपाल पुलिस क्लब र पर्वत भलिबल संघबिच हुने तालिका छ । माघ १७ गतेसम्म चल्ने च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी छन् । सिंगल राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन् ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected