व्यापारभन्दा माथि उठ्दै शिक्षा, सीप र संस्कृतिको उत्सव बनेको नवौँ वालिङ महोत्सव
- January 30, 2026
- 198

वालिङ, स्याङ्जा । वालिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ १४ गतेदेखि सुरु भएको नवौँ वालिङ महोत्सव २०८२ माघ २५ गतेसम्म सञ्चालन हुने क्रममा छ। महोत्सवले व्यापारिक गतिविधिसँगै शिक्षा, कृषि, सीप र संस्कृतिको प्रवर्द्धन गर्दै बहुआयामिक सन्देश प्रवाह गरिरहेको छ।
महोत्सवमा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई शैक्षिक र कृषि प्रदर्शनीका लागि निःशुल्क स्टल उपलब्ध गराइनुले आयोजकले शिक्षालाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ। यही सन्दर्भमा स्याङ्जा जिल्लाकै पुरानो शैक्षिक संस्था, वि.सं. २०१९ सालमा स्थापना भएको श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय महोत्सवको प्रमुख आकर्षणका रूपमा उभिएको छ।

यस विद्यालयले करिब एक महिना अघि सम्पन्न फुड महोत्सवमा विद्यार्थीहरूद्वारा तयार पारिएका खाजामार्फत व्यापक चर्चा कमाएको थियो। हाल सञ्चालन भइरहेको वालिङ महोत्सवमा पनि विद्यालयले आफ्नो सक्रिय सहभागिता, सिर्जनात्मक प्रस्तुति र व्यवहारिक सिकाइको नमुना प्रस्तुत गर्दै दर्शकको ध्यान तानेको छ।
विद्यार्थी सिकाइलाई व्यवहारिक र सीपमूलक बनाउने उद्देश्यसहित विद्यालयले विज्ञान, कृषि र व्यावसायिक शिक्षासँग सम्बन्धित विविध सामग्री प्रदर्शन गरेको छ। विद्यार्थीहरूले तयार पारेका विज्ञानका नमुना सामग्री, कृषि प्रविधिसम्बन्धी अभ्यास तथा डोको बुन्ने प्रत्यक्ष सीप प्रदर्शन महोत्सव अवलोकनकर्ताका लागि विशेष आकर्षण बनेका छन्। परम्परागत सीपलाई आधुनिक शिक्षासँग जोड्ने विद्यालयको प्रयासले शिक्षाको वास्तविक उद्देश्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
त्यसैगरी, वालिङ आसपास बग्ने आँधीखोलाका ढुङ्गामा चित्र कोर्ने कला विद्यालयको अर्को नौलो र सन्देशमूलक प्रस्तुति हो। प्राकृतिक स्रोतलाई सिर्जनात्मक रूपमा उपयोग गर्दै ती चित्रित ढुङ्गाहरूलाई भविष्यमा व्यावसायिक उत्पादनका रूपमा बजारमा लैजान सकिने सम्भावनाले दर्शकमा उत्साह थपेको छ। यसले स्थानीय स्रोत, कला र उद्यमशीलतालाई एउटै थलोमा जोड्ने स्पष्ट सन्देश दिएको छ।
समग्रमा, पूर्णामृत भवानी माविको सहभागिताले वालिङ महोत्सवलाई केवल व्यापारिक मेलामा सीमित नराखी शिक्षा, सीप र उद्यमशीलताको साझा मञ्चको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ। विद्यालयको प्रस्तुति अहिले दर्शक, अभिभावक र शिक्षाप्रेमी सबैको चासोको केन्द्र बनेको छ।
यसैबीच, वालिङ उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित नवौँ वालिङ महोत्सव साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रमका कारण पनि दर्शकमाझ विशेष आकर्षणको केन्द्र बनेको छ। महोत्सवको दोस्रो दिन अर्थात् माघ १५ गते विभिन्न विधाका चर्चित कलाकारहरूको साङ्गीतिक प्रस्तुतिले वालिङको माहोल झनै उल्लासमय बनेको थियो।
दोस्रो दिनको साङ्गीतिक कार्यक्रममा गायक पुष्कल शर्मा, कृष्ण गुरुङ, नेत्र खड्का, तारा पौडेल र यम नेपालीले आ–आफ्ना प्रस्तुति दिएका थिए। उनीहरूको गीत–संगीतमा दर्शक झुम्मिँदा महोत्सवस्थल भरिभराउ देखिन्थ्यो। कार्यक्रम सञ्चालन तथा समन्वयमा घनश्याम रिजाल, मुनु अर्याल र जगत गौंडेलको महत्वपूर्ण भूमिका रहेको थियो।
यसअघि महोत्सवको पहिलो दिन पनि श्रीकृष्ण बम मल्ल, तारा पौडेल, यम नेपाली, नेत्र खड्का, कृष्ण गुरुङलगायत चर्चित कलाकारहरूको प्रस्तुति रहेको थियो। लगातार दुई दिनसम्म भएका साङ्गीतिक कार्यक्रमले महोत्सवप्रति दर्शकको आकर्षण बढ्दै गएको आयोजकले जनाएको छ।
महोत्सवमा साङ्गीतिक कार्यक्रमसँगै स्थानीय तथा राष्ट्रिय उत्पादनका व्यापारिक स्टल, कृषिजन्य सामग्रीको प्रदर्शनी, विविध खानाका परिकार, मनोरञ्जनात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। यसले स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण सहयोग पुगेको महोत्सवका प्रचार प्रसार संयोजक पिताम्बर खनाल शुशिलको भनाइ छ।

खनालका अनुसार नवौँ वालिङ महोत्सव २०८२ को तेस्रो दिन अर्थात् माघ १६ गते पनि साङ्गीतिक प्रस्तुति कार्यक्रम निरन्तर रहनेछ। वालिङ नगरपालिका संरक्षक रहेको उक्त महोत्सवलाई व्यवस्थित, सुरक्षित र मनोरञ्जनात्मक बनाउन सबै पक्षसँग सहकार्य भइरहेको जनाइएको छ।
व्यापार, पर्यटन, शिक्षा र संस्कृतिको प्रवर्द्धनमा नवौँ वालिङ महोत्सवले महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले लिएका छन्।






सम्बन्धित खवर
















