
पोखरा भ्यूज ।
पोखरा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’ अभियानलाई तीव्र बनाएका छन्।
यसैक्रममा आइतबार कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पोखरा महानगरपालिका–२१ मा उम्मेदवार पौडेलले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, आवश्यकता र सुझाव संकलन गरेका छन्।
संवाद यात्राअन्तर्गत पोखरा–२१ का पोखरेल थोक, शिवालय, निर्मल पोखरी, मैदान, ठुलिस्वारा, चिलाउने खर्क तथा थाप्ले–तिलाहारलगायत विभिन्न स्थानमा पुगेर स्थानीयसँग छलफल तथा अन्तरक्रिया गरिएको क्षेत्र नम्बर २ को सचिवालयले जनाएको छ।
कार्यक्रममा स्थानीयवासीहरूले आफूले भोग्दै आएका दैनिक समस्या, विकासका प्राथमिकता, सेवा प्रवाहमा देखिएका कमजोरी तथा भावी योजनाका विषयमा खुलेर आफ्ना सुझाव र अपेक्षा राखेका थिए। उम्मेदवार पौडेलले स्थानीय आवाजलाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै नीति निर्माण प्रक्रियामा नागरिकको सक्रिय सहभागिता अनिवार्य रहेको बताए।
संवाद यात्रामा निर्वाचन कमाण्डर दिपेन्द्र पोख्रेल (बहादास), गण्डकी प्रदेश सह–महामन्त्री अनिस अधिकारी, पोखरा–२१ का सभापति पवित्रमणि अधिकारीलगायत केन्द्र, प्रदेश, जिल्ला तथा क्षेत्र तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
रास्वपाले आगामी दिनहरूमा पनि कास्की–२ का विभिन्न स्थानमा यस्ता संवादमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। संवाद यात्राले कास्की–२ मा चुनावी माहोललाई थप उत्साहपूर्ण र आशावादी बनाएको देखिएको छ।
यसैबीच, क्षेत्र नम्बर २ अन्तर्गत विभिन्न स्थानमा सम्पर्क कार्यालय स्थापना गरेको छ। पार्टी संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा नागरिकसँग प्रत्यक्ष संवादलाई सहज बनाउने उद्देश्यले ती सम्पर्क कार्यालयहरू सञ्चालनमा ल्याइएको रास्वपाले जनाएको छ।
यस क्रममा पोखरा–८ आलुमाइला चोक र पोखरा–३३ मा सम्पर्क कार्यालय स्थापना गरेको छ। साथै निर्वाचन क्षेत्रका विभिन्न स्थानमा नागरिकका सुझाव संकलन गर्ने कार्यसमेत निरन्तर रूपमा जारी रहेको रास्वपा कास्की–२ सचिवालयले जानकारी दिएको छ।





















