0Shares

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा (एमाले) की उम्मेदवार रश्मि आचार्यलाई उनको जन्मथलो पोखरा–३३ भरत पोखरीका स्थानीय बासिन्दाले सक्षम, जनउत्तरदायी र संसदमा जनताका आवाज प्रभावकारी रूपमा उठाउन सक्ने उम्मेदवारका रूपमा मूल्याङ्कन गरेका छन्।

प्रतिबद्धता पत्रका लागि सुझाव संकलन गर्ने क्रममा उम्मेदवार आचार्य आफ्नै जन्मथलोका टोल–टोल र बस्ती–बस्ती पुगेकी थिइन्। यस अवसरमा स्थानीयले “ठाउँ बुझेको, जनताको सारथि र समस्यालाई समाधानसहित उजागर गर्न सक्ने” उम्मेदवारका रूपमा आचार्यलाई निर्धक्क समर्थन रहने बताएका छन्।

स्थानीय ७५ वर्षीय लालबहादुर नेपालीले विगतका जनप्रतिनिधिले विकास र नीति बहसमा अब्बल उदाहरण प्रस्तुत गरेको स्मरण गर्दै, “हिजोका प्रतिनिधिले कसैलाई अन्याय गरेनन्, न त अब आउने प्रतिनिधिले घात गर्नेछन्। रश्मि आचार्यमा झन उत्कृष्ट काम गर्ने सम्भावना देखिन्छ,” भने।

त्यस्तै अर्की स्थानीय श्रीमाया नेपालीले भनिन्, “हामीलाई कामचलाउ होइन, राष्ट्रिय राजनीति, देश विकास र नीति निर्माणमा प्रभावशाली भूमिका खेल्न सक्ने प्रतिनिधि चाहिएको हो। त्यो क्षमता उहाँसँग छ।”

दक्षिण पोखराको भरत पोखरी क्षेत्रको पर्यटकीय सम्भावना र भौतिक विकास क्रमशः पूर्णतातर्फ उन्मुख रहेको उल्लेख गर्दै तिक्लाङ निवासी मेघनाथ ढकालले भने, “हामी कहिल्यै लहडमा हिँडेनौँ। जसले जनहितका काम गर्छ, जित उसकै हुन्छ। त्यो क्षमता रश्मि आचार्यसँग छ।”

भरत पोखरीलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने साझा आकांक्षा व्यक्त गर्दै स्थानीय शान्ति आचार्यले भनिन्, “सुन्दर पर्यटकीय गन्तव्य निर्माणका लागि हामी रश्मिको विजय चाहन्छौँ। भरत पोखरीलाई ‘डेस्टिनेसन प्याराडाइज’ बनाउने काम उहाँबाट सम्भव छ।”

स्थानीयको सुझाव र उत्साहपूर्ण सहभागिताप्रति आभार व्यक्त गर्दै उम्मेदवार आचार्यले जन्मथलोको अपार समर्थनले आफ्नो विजय सुनिश्चित भइसकेको दाबी गरिन्। उनले सबैको साथ र विश्वासका आधारमा अब्बल जनप्रतिनिधिका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

विद्यार्थी राजनीतिबाट उदाएकी आचार्य कुशल, इमान्दार र बौद्धिक छविका रूपमा परिचित छन्। स्थानीय स्तरमै सक्रिय रूपमा सुझाव संकलन गर्दै जनतासँग प्रत्यक्ष संवादमा रहेकी उनीप्रति भरत पोखरीवासीको भरोसा र अपेक्षा उच्च देखिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected