0Shares

स्याङ्जा । विश्वव्यापी रूपमा मनाइँदै आएको ग्लोबल मनी वीक स्याङ्जामा पनि बैंक तथा वित्तीय संस्थाहरूले सुरु गरेका छन्। एक साता सम्म सञ्चालन हुने यस अभियानमा वित्तीय साक्षरताको प्रवर्द्धनलाई मुख्य प्राथमिकता दिइएको छ।

स्याङ्जाको वालिङमा वालिङ बैंकर्स क्लबको आयोजनामा प्रभातफेरी निकाल्दै दिवसको शुभारम्भ गरिएको हो। कार्यक्रममा वालिङस्थित बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा आबद्ध कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रभातफेरीका क्रममा सहभागीहरूले “आम्दानी अनुसारको खर्च जीवन हुन्छ सहज”, “बचत गरौं, सपना पूरा गरौं” र “पैसा जीवनको आधार हो” जस्ता सन्देशमूलक प्लेकार्ड प्रदर्शन गरेका थिए।

कार्यक्रमपछि बोल्दै मुक्तिनाथ विकास बैंकका पूर्व अध्यक्ष भरतराज ढकालले बैंक तथा वित्तीय संस्थालाई “विश्वासको मन्दिर”को संज्ञा दिँदै नागरिकमा पैसाको सही बुझाइ विकास गराउन बैंककर्मीहरूको महत्वपूर्ण भूमिका रहेको बताए। उनले बचतलाई कमाइको रूपमा बुझाउन आवश्यक रहेको उल्लेख गर्दै आम्दानी अनुसार खर्च गर्न सके मात्रै बचत सम्भव हुने धारणा राखे।

ढकालले वित्तीय साक्षरता अभियान अझै ग्रामीण क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमले बचत, लगानी र आर्थिक अनुशासनप्रति सकारात्मक सोच विकास गर्ने विश्वास व्यक्त गरे।

त्यसैगरी, शिखर इन्स्योरेन्स कम्पनी वालिङ शाखाका प्रमुख शंकर सुवेदीले बीमा नागरिकको आर्थिक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यसको महत्वबारे व्यापक जनचेतना आवश्यक रहेको बताए। उनले बीमाको पहुँच विस्तार गर्न वित्तीय संस्थाहरूले अभियान नै सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरे।

‘स्मार्ट मनी’ नाराका साथ चैत २ गतेदेखि ८ गतेसम्म मनाइने ग्लोबल मनी वीक सन् २०१२ देखि ओइसिओ  को पहलमा सुरु भएको हो। यस कार्यक्रमले विशेषगरी बालबालिका र युवामा वित्तीय ज्ञान, सीप र सकारात्मक आर्थिक व्यवहार विकास गर्ने लक्ष्य राखेको छ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार देशभरका बैंक तथा वित्तीय संस्थाले यो कार्यक्रम मनाउँदै आएका छन्। वित्तीय साक्षरताको सन्देश शहरदेखि गाउँसम्म फैलाउँदै आर्थिक रूपमा सचेत समाज निर्माणमा यसले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

वालिङ बैंकर्स क्लबका अध्यक्ष नवीन काफ्लेले एक साताभर जिल्लाका विभिन्न शैक्षिक संस्थाहरूमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected