0Shares

काठमाडौं । नेपाल व्यवस्थापन संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई लक्षित गर्दै ‘बजेटपूर्व छलफल : समृद्धिको मार्ग’ विषयक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाले अर्थतन्त्र सुधार र दिगो समृद्धिका लागि ठोस सुझाव प्रस्तुत गरेका छन्।

संघका अध्यक्ष हेमा कुमारी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. सञ्जय आचार्य प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा पूर्व मुख्य सचिव डा. बैकुण्ठ अर्यालले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान आर्थिक चुनौती, निजी क्षेत्रको भूमिका, तथा लगानीमैत्री वातावरण निर्माणका आवश्यकताबारे प्रकाश पारे। उनले नीति स्थायित्व, उत्पादनमूलक क्षेत्रको प्रवर्द्धन र प्रशासनिक सुधारलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे।

त्यस्तै, पूर्व अर्थमन्त्री तथा संघका पूर्वअध्यक्ष डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. रमेशचन्द्र पौडेल तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुदर्शनराज पाण्डेले बजेटलाई यथार्थपरक, अनुशासित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। उनीहरूले लगानी वृद्धि, राजस्व सुदृढीकरण, खर्च नियन्त्रण तथा वित्तीय अनुशासन कायम गर्न स्पष्ट रणनीति आवश्यक रहेको बताएका थिए।

कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण आचार्यले सहजीकरण गरेका थिए भने महासचिव इन्द्रकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूले पनि बजेट निर्माण प्रक्रियालाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउनुपर्ने सुझाव दिएका थिए।

प्रमुख अतिथि डा. सञ्जय आचार्यले प्राप्त सुझावहरूलाई नीति निर्माणमा समेट्नुपर्नेमा जोड दिँदै प्रभावकारी बजेटमार्फत आर्थिक स्थायित्व र समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे।

कार्यक्रमको समापन गर्दै अध्यक्ष अधिकारीले सरोकारवालाबाट प्राप्त सुझावहरूलाई समेटेर सरकारसमक्ष पेश गरिने जानकारी दिइन्। उनले यस्ता छलफलले सरकारलाई समावेशी र प्रभावकारी बजेट निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected