0Shares
अन्नपुर्ण, कास्की। कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका सुशासन, पारदर्शिता र वित्तीय अनुशासनको क्षेत्रमा देशमै उदाहरणीय स्थानीय तहका रूपमा स्थापित भएको छ। महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३ औँ वार्षिक प्रतिवेदन–२०८३ अनुसार अन्नपूर्ण गाउँपालिका देशभरिका स्थानीय तहहरूमध्ये सबैभन्दा कम बेरुजु हुने उत्कृष्ट १० पालिकाको सूचीमा सातौँ स्थान हासिल गर्न सफल भएको हो।

प्रतिवेदनअनुसार गाउँपालिकाको बेरुजु दर केवल ०.०१३० प्रतिशत रहेको छ, जुन स्थानीय तहहरूमध्ये अत्यन्त न्यून मानिन्छ। गण्डकी प्रदेशभित्र पनि अन्नपूर्ण गाउँपालिका चौथो कम बेरुजु हुने पालिकाका रूपमा सूचीकृत भएको छ। यस उपलब्धिलाई गाउँपालिकाले वित्तीय सुशासन, पारदर्शी प्रशासन र जिम्मेवार खर्च प्रणालीको प्रतिफलका रूपमा लिएको छ।

गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के. सी.  ले यो उपलब्धि समग्र गाउँपालिकाको सामूहिक मेहनत र जिम्मेवारीबोधको परिणाम भएको बताए। उनले भने, “जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, उपभोक्ता समिति तथा सम्पूर्ण नागरिकको साथ र विश्वासका कारण अन्नपूर्ण गाउँपालिका सुशासनको क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो। हामीले विकास निर्माणसँगै आर्थिक अनुशासनलाई पनि समान प्राथमिकतामा राखेका छौँ।”

अध्यक्ष के. सी. ले आगामी दिनमा बेरुजु दरलाई शून्यमा झार्ने लक्ष्यसहित अझ प्रभावकारी अनुगमन, पारदर्शी बजेट कार्यान्वयन र जवाफदेही प्रशासनिक प्रणालीलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे। “सुशासनलाई संस्थागत गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो,” उनले थपे।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले वित्तीय अनुशासन कायम गर्न कर्मचारी संयन्त्रले इमानदार र उत्तरदायी ढंगले काम गरेको बताए। उनका अनुसार योजनाको कार्यान्वयनदेखि भुक्तानी प्रक्रियासम्म कानुनी मापदण्ड र पारदर्शितालाई कडाइका साथ पालना गरिएकाले यस्तो सकारात्मक नतिजा प्राप्त भएको हो।

“कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार : अन्नपूर्ण समृद्धिको आधार” भन्ने मूल नाराका साथ अघि बढिरहेको गाउँपालिकाले विकास र सुशासनलाई सँगसँगै अघि बढाउँदै स्थानीय सरकारप्रति नागरिकको विश्वास थप मजबुत बनाएको जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected