
पोखरा, ७ जेठ । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको सशस्त्र प्रहरी बलको गोताखोर टोलीले उद्धार गरेको छ। उद्धारपछि अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।
मृत्यु हुनेमा जिल्ला कास्की, पोखरा महानगरपालिका–१३ काहुँखोला निवासी अन्दाजी २७ वर्षीय रिवाज गुरुङ रहेका छन्। उनी फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।
युवक हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको टोली परिचालन गरिएको थियो। टोलीमा विशेषज्ञ गोताखोर (डाइभर) तथा उद्धार टोली समेत सहभागी रहेको थियो।
सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा राति ३:३५ बजे गुरुङलाई फेवातालबाट अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले परीक्षणका क्रममा उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




























