क्रियाशील सदस्यता अद्यावधिक अभियानमा ६ लाख ८७ हजारभन्दा बढी सदस्य समेटिए, छुटेकालाई थप अवसर

ललितपुर, जेठ ३०, २०८३। नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा शुक्रबार केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, ललितपुरमा सम्पन्न भएको छ।
बैठकले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गरी सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने सम्पूर्ण पार्टी पंक्ति तथा सदस्यहरूलाई धन्यवाद व्यक्त गरेको छ।
समितिका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २८ गते राति १२ बजेसम्म ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण प्रणालीमा प्रविष्ट भइसकेको छ। तीमध्ये ५ लाख ३८ हजार ६२२ जनाले NCID प्राप्त गरिसकेका छन् भने १ लाख ४९ हजार ३०९ जनाको स्वयं अद्यावधिक फाराम वडा तहबाट अनुमोदन हुने प्रक्रियामा रहेको छ।
बैठकले वडा तहमा पुगेका अनलाइन फारामहरू असार ५ गतेभित्र अनुमोदन गरिसक्न निर्देशन दिएको छ। तोकिएको समयभित्र अनुमोदन नभएमा विधानअनुसार योग्य सदस्यहरूको विवरण केन्द्रबाट स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइने निर्णय गरिएको छ।
इन्टरनेट पहुँच न्यून रहेका उच्च हिमाली तथा विकट पहाडी क्षेत्रका केही जिल्ला, साथै बारा र खोटाङमा अद्यावधिक कार्य ढिलो भएकाले त्यहाँ असार ७ गतेसम्म समय थप गरिएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि भने असार १० गतेसम्मको समय तोकिएको छ।
बैठकले नयाँ क्रियाशील सदस्यता वितरण तथा फाराम प्रविष्टिको कार्य असार २० गतेसम्म कायम राख्ने निर्णय गरेको छ। साथै, क्रियाशील सदस्यता नवीकरण वा नयाँ सदस्यता वितरण गर्दा विधानबमोजिमको शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने र शुल्क नबुझाउने सदस्यले १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन नपाउने स्पष्ट गरिएको छ।
समितिले विभिन्न कारणले समयसीमाभित्र सदस्यता नवीकरण वा अद्यावधिक गर्न नपाएका सदस्यहरूलाई प्रमाणसहित असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरेको छ। त्यस्तै, अद्यावधिक हुन बाँकी रहेका वडाहरूले आवश्यक विवरणसहित थप समय माग गर्न सक्ने निर्णय पनि गरिएको छ।
बैठकले १५औँ महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी सदस्यता अद्यावधिक तथा नयाँ वितरण कार्यको समय व्यवस्थापन गर्न केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय गरेको छ।
युवाहरूलाई पार्टीमा आकर्षित गर्ने उद्देश्यले ३५ वर्षमुनिका युवालाई लक्षित गरी क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। साथै, विषय विज्ञ (Lateral Entry) तथा विदेशमा रहेका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण, निरन्तरता र अद्यावधिकको कार्य असार २० गतेसम्म जारी रहने निर्णय गरिएको छ।
बैठकले डिजिटल प्रणालीमा नयाँ सदस्यका रूपमा देखिएका पुराना क्रियाशील सदस्यहरूको हकमा पुरानो सदस्यता नम्बर प्रमाणित भएमा उनीहरूलाई नवीकरण गरिएको सदस्यकै रूपमा कायम गर्ने निर्णय गरेको छ। यसैगरी, सदस्यताको विवरण प्रविष्ट गर्दा भएका त्रुटिहरू सच्याउन प्रदेशगत इमेलमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिले पार्टी संगठनलाई अझ व्यवस्थित, प्रविधिमैत्री र समावेशी बनाउँदै १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



























