अन्नपूर्ण गाउँपालिकामा आगामी आर्थिक वर्षको नीति तथा बजेट निर्माणका लागि सुझाव संकलन
- June 14, 2026
- 117

अन्नपूर्ण, कास्की । अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट निर्माणलाई जनमुखी, समावेशी र विकासमुखी बनाउन सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको सभा हलमा दुई दिनसम्म सञ्चालन भएको कार्यक्रम गाउँपालिका अध्यक्ष विष्णुबहादुर के.सी.को अध्यक्षतामा सम्पन्न भएको हो।
शनिबार र आइतबार आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, पूर्व जिल्ला विकास समिति सभापति पुण्यप्रसाद पौडेल, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, वडा अध्यक्ष तथा पूर्व वडा अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, शाखा प्रमुख, शिक्षाविद्, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य आगामी आर्थिक वर्षका लागि तयार गरिने नीति, कार्यक्रम तथा बजेटलाई स्थानीय आवश्यकता, जनअपेक्षा र विकासका प्राथमिकतासँग जोड्नु रहेको उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले बताइन्।
छलफलका क्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगार सिर्जना, वातावरण संरक्षण, युवा तथा महिला सशक्तीकरणलगायत १९ वटा विषयगत क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए। विकास योजनाको छनोटदेखि कार्यान्वयनसम्म पारदर्शिता कायम गर्नुपर्ने, स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्नुपर्ने तथा नागरिक सहभागिता सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिइएको थियो।
सहभागीहरूले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, कृषि उत्पादनको व्यावसायीकरण, पर्यटन विकास, युवा जनशक्तिको उपयोग तथा रोजगारीका अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। साथै ग्रामीण सडक, खानेपानी तथा अन्य आधारभूत पूर्वाधार विकासलाई योजनाबद्ध ढंगले अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए।
छलफलमा अन्नपूर्ण गाउँपालिकाको मौलिक कला, संस्कृति, भाषा, साहित्य, इतिहास तथा सामाजिक पहिचानको संरक्षणसँगै सूचना प्रविधि, डिजिटल सुशासन र विश्वभर रहेका अन्नपूर्णवासीहरूको ज्ञान, सीप, अनुभव तथा लगानीलाई स्थानीय विकाससँग जोड्ने दीर्घकालीन नीति आवश्यक रहेको विषय पनि उठाइएको थियो।
आइतबार सम्पन्न सुझाव संकलन कार्यक्रममा पूर्व जिविस सभापति पुण्यप्रसाद पौडेल, माछापुच्छ्रे क्याम्पसका पूर्व प्राचार्य रामचन्द्र सुवेदी, क्याम्पस सञ्चालन समितिका अध्यक्ष शिवहरि सुवेदी, सह–प्राध्यापक गिरधारी दाहाल, उप–प्राध्यापक चन्द्रकान्त पौडेल, ढिकुरपोखरी समाज पोखराका अध्यक्ष लक्ष्मी अधिकारी, महिला सञ्जालकी अध्यक्ष कमला केसी, साहित्यकार अम्बिका भण्डारी तथा पत्रकार इन्द्रप्रसाद पौडेल र टंकराज अधिकारीलगायतले आ–आफ्ना क्षेत्रगत सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर के.सी.ले स्थानीय आवश्यकता र जनअपेक्षालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिने बताए। उनले प्राप्त सुझावहरूलाई योजनाबद्ध रूपमा समेट्दै समग्र विकासको मार्गचित्र तयार गरिने प्रतिबद्धता व्यक्त गरे। विकास निर्माणका कार्यलाई दिगो, परिणाममुखी र जनउत्तरदायी बनाउने दिशामा गाउँपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो।
सहभागीहरूको सक्रिय सुझाव र रचनात्मक छलफलले आगामी आर्थिक वर्षको नीति तथा बजेट निर्माण प्रक्रियालाई थप व्यावहारिक, समावेशी र जनकेन्द्रित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले व्यक्त गरे।
आइतवार सम्पन्न कार्यक्रमको सहजीकरण प्रशासकीय अधिकृत ठाकुरप्रसाद अधिकारी, पशु शाखा अधिकृत ऋषिराम दाहाल र सूचना अधिकृत विनय अधिकारीले गरेका थिए।



























