0Shares

हङकङ, असार १९ (जुलाई ३) विश्वभरका लायन्स सदस्यहरूको सहभागिता रहने लायन्स अन्तर्राष्ट्रियको १०८औँ अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि हङकङमा सुरु भएको छ। जुलाई ३ देखि ७ सम्म सञ्चालन हुने सम्मेलन हङकङस्थित एशियावर्ल्ड–एक्स्पोमा आयोजना गरिएको हो।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीका अनुसार सम्मेलनको पहिलो दिन प्रतिनिधिहरूको दर्ता, प्रदर्शनी अवलोकन तथा विभिन्न प्रशासनिक कार्यक्रम सञ्चालन हुने छन्। सम्मेलनमा विश्वका विभिन्न मुलुकबाट हजारौँ लायन्स सदस्य, पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

सम्मेलनको दोस्रो दिन उद्घाटन पूर्ण अधिवेशन, व्यावसायिक बैठक, अन्तर्राष्ट्रिय निर्देशक पदका उम्मेदवारहरूको परिचय तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ। त्यसपछि विभिन्न विषयगत छलफल, नेतृत्व विकास, सामाजिक सेवा विस्तार तथा अन्तर्राष्ट्रिय सहकार्यसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन हुनेछन्।

तेस्रो दिन जुलाई ५ मा दोस्रो पूर्ण अधिवेशन, निर्वाचन, विभिन्न सेमिनार तथा पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष, पूर्व अन्तर्राष्ट्रिय निर्देशक र जिल्ला गभर्नरहरूको सम्मानमा विशेष भोजको कार्यक्रम तय गरिएको छ।

त्यस्तै जुलाई ६ मा निर्वाचन प्रक्रिया, विषयगत सेमिनार, मेल्भिन जोन्स फेलोशिप लञ्च तथा समापन पूर्ण अधिवेशन आयोजना हुनेछ। सम्मेलनको अन्तिम दिन जुलाई ७ मा अन्तर्राष्ट्रिय पदाधिकारीहरूसँग सहभागीहरूको ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सञ्चालन गरिने तालिका रहेको गभर्नर केसीले बताए।

आयोजकले जनाए अनुसार सम्मेलनमा संगठनको भावी नीति तथा कार्यक्रम, नेतृत्व चयन, मानवीय सेवाका प्राथमिकता, सदस्यता विस्तार, युवाको सहभागिता तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल हुनेछ। साथै, विभिन्न मुलुकका लायन्स क्लबहरूले सञ्चालन गरेका सफल सामाजिक सेवा परियोजनाको अनुभव आदानप्रदान गरिनेछ।

लायन्स अन्तर्राष्ट्रियले हरेक वर्ष आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनलाई विश्वभरका सदस्यबीच अनुभव साटासाट, अन्तर्राष्ट्रिय मित्रता विस्तार र सेवा परियोजनामा सहकार्य अभिवृद्धि गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइन्छ। सम्मेलनमा सहभागीहरूले विभिन्न मुलुकका डिष्ट्रिक्ट र क्लबहरूले सञ्चालन गरेका स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, विपद् व्यवस्थापन, भोकमरी न्यूनीकरण तथा दृष्टि संरक्षणसम्बन्धी कार्यक्रमबारे जानकारी प्राप्त गर्ने अवसर पनि पाउनेछन्।

लायन्स क्लब अन्तर्राष्ट्रियको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन सन् १९१७ मा संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यस्थित डल्लासमा आयोजना गरिएको थियो। सन् १९४५ मा दोस्रो विश्वयुद्धका कारण निर्धारित सम्मेलन आयोजना हुन नसके पनि त्यसयता नियमित रूपमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै आएको छ। हालसम्म अमेरिका, क्यानडा, मेक्सिको, जापान, चीन, अष्ट्रेलिया, दक्षिण कोरिया, क्युबा, फ्रान्स, जर्मनी, थाइल्यान्ड, ताइवानलगायत विभिन्न मुलुकमा सम्मेलन आयोजना भइसकेका छन्। यस वर्षको १०८औँ सम्मेलनको आयोजना हङकङले गरेको हो।

सम्मेलनबाट लायन्स अन्तर्राष्ट्रियका लागि अध्यक्ष, प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्देशकहरूको निर्वाचन हुनेछ। यस पटक नेपालका लायन नेता राजन लम्साल अन्तर्राष्ट्रिय निर्देशक पदमा निर्विरोध निर्वाचित हुने कार्यक्रम रहेको नेपाली प्रतिनिधिमण्डलले जनाएको छ। यसलाई नेपालका लागि लायन्स अन्तर्राष्ट्रियको नेतृत्व तहमा थप प्रभावकारी उपस्थिति स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ।

नेपालबाट विभिन्न डिष्ट्रिक्टका गभर्नर, पूर्व गभर्नर, क्लब पदाधिकारी तथा लायन्स सदस्यहरूको उल्लेख्य सहभागिता रहेको छ। सहभागीहरूले सम्मेलनका औपचारिक कार्यक्रमसँगै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय भेटघाट, अनुभव आदानप्रदान तथा भविष्यका संयुक्त सेवा परियोजनाबारे पनि छलफल गर्नेछन्।

Screenshot

लायन्स अन्तर्राष्ट्रिय विश्वकै सबैभन्दा ठूलो स्वयंसेवी सेवा संगठनमध्ये एक मानिन्छ। यसले स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण, बालबालिका तथा ज्येष्ठ नागरिकको कल्याण, विपद् राहत, भोकमरी न्यूनीकरण र दृष्टि संरक्षणलगायत क्षेत्रमा विश्वव्यापी रूपमा सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ। हङकङ सम्मेलनले संगठनको आगामी कार्यदिशा तय गर्नुका साथै सदस्य राष्ट्रबीच सहकार्य र मानवीय सेवाको दायरा अझ विस्तार गर्ने अपेक्षा गरिएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected