
पोखरा, २० असार । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले पहिलोपटक अग्रज पत्रकार सम्मान कार्यक्रम सञ्चालन गर्दै पाँच जना वरिष्ठ पत्रकारलाई सम्मान गरेको छ।
पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा पोखराका स्व. केशवराज पराजुली र तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी तथा पर्वतकी सरस्वती शर्मा जिज्ञासुलाई सम्मान गरिएको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानित पत्रकारलाई जनही ५० हजार रुपैयाँ नगद, ताम्रपत्र र दोसल्ला प्रदान गरे। तीन दिनअघि निधन भएका स्व. पराजुलीको सम्मान नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले ग्रहण गरे। सोही अवसरमा सम्मानित पत्रकारहरूको योगदान समेटिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि विमोचन गरियो।
मुख्यमन्त्री पाण्डेले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै सत्य र तथ्यमा आधारित पत्रकारितालाई कसैले रोक्न नसक्ने बताए। सामाजिक सञ्जाल र मूलधारका सञ्चारमाध्यमबीचको भिन्नता जनतालाई स्पष्ट रूपमा बुझाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले सरकारका कमजोरीसमेत निर्भीक रूपमा उजागर गर्न सञ्चारमाध्यमलाई आग्रह गरे।
प्रेस रजिष्ट्रार बिमला भण्डारीले अग्रज पत्रकारहरूको जीवन, संघर्ष र योगदानलाई पुस्तक तथा डिजिटल अभिलेखमार्फत संरक्षण गर्ने उद्देश्यले सम्मान कार्यक्रम सुरु गरिएको बताइन्। सत्य, निष्पक्षता, व्यावसायिकता र उत्तरदायित्वमा आधारित पत्रकारिता प्रवर्द्धन गर्न कार्यालय प्रतिबद्ध रहेको उनको भनाइ थियो।
सम्मानित पत्रकारको तर्फबाट विश्वबन्धु भण्डारीले पत्रकार शासक र जनताबीचको सेतु भएको उल्लेख गर्दै सम्मानले थप जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिए।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सञ्चार क्षेत्र आर्थिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै सरकारी विज्ञापन वितरण नीति पुनरावलोकन गर्न, पत्रकार स्वास्थ्य बिमाका लागि पर्याप्त बजेट व्यवस्था गर्न तथा नवीकरण छुटेका सञ्चारमाध्यमलाई एकपटक नवीकरणको अवसर दिन सरकारसँग माग गरे।
अग्रज पत्रकार छनोटका लागि गण्डकी प्रदेशका कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, पूर्वअध्यक्ष नारायण शर्मा, प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेल तथा प्रेस रजिष्ट्रार बिमला भण्डारी सदस्य थिए।
प्रेस रजिष्ट्रार बिमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चारसम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। ‘स्वच्छ प्रेस : समुन्नत गण्डकी प्रदेश’नारासहित आयोजित कार्यक्रम पत्रकार अमृत सुवेदीले सञ्चालन गरेका थिए। कार्यक्रममा मिडियाको अर्थतन्त्र र पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) विषयमा दुईवटा छलफल सत्रसमेत सम्पन्न भएका थिए।



























