0Shares

पोखरामा विशेषज्ञहरूको निष्कर्षस्वस्थ जीवनशैली, नियमित परीक्षण गुणस्तरीय विशेषज्ञसेवाको पहुँच विस्तार नगरी मुटुरोग नियन्त्रण सम्भव छैन

पोखरा । नेपालमा नसर्ने रोगको जोखिम निरन्तर बढिरहेका बेला मुटुरोगको रोकथाम, समयमै पहिचान र गुणस्तरीय उपचारका लागि सरकार, स्वास्थ्य संस्था, विशेषज्ञ चिकित्सक तथा समुदायबीचको समन्वयात्मक सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

हेल्दी हार्ट नेपाल र गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा पोखरामा सम्पन्न ‘गण्डकी हार्ट मिट–२०२६’ तथा मुटुरोगसम्बन्धी समीक्षा कार्यक्रममा सहभागीहरूले उपचारमा मात्र केन्द्रित नभई जनचेतना अभिवृद्धि, स्वस्थ जीवनशैलीको प्रवर्द्धन र विशेषज्ञ स्वास्थ्य सेवाको सहज पहुँचलाई समान प्राथमिकता दिनुपर्ने निष्कर्ष प्रस्तुत गरेका हुन्।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुटुरोग विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा तीव्र रूपमा फैलिरहेको उल्लेख गर्दै यसको प्रभाव न्यूनीकरणका लागि सरकार, स्वास्थ्य क्षेत्र र समुदायबीचको साझा प्रयास अपरिहार्य रहेको बताए। उनले समयमै रोगको पहिचान, प्रभावकारी उपचार र नागरिकमा स्वस्थ जीवनशैलीको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे।

कार्यक्रममा देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत मुटुरोग विशेषज्ञहरूले मुटुरोगको वर्तमान अवस्था, उपचार प्रणाली, अनुसन्धान तथा आधुनिक प्रविधिबारे विस्तृत समीक्षा प्रस्तुत गरेका थिए। छलफलका क्रममा सन्तुलित आहार, नियमित व्यायाम, शारीरिक सक्रियता, धुम्रपान तथा मद्यपानबाट टाढा रहने बानीले मुटुरोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सक्ने निष्कर्ष निकालियो।

मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाले विभिन्न प्राविधिक कार्यपत्र प्रस्तुत गर्दै यस्ता सम्मेलनले चिकित्सकहरूलाई नवीनतम उपचार प्रविधिबारे अद्यावधिक गराउने, अनुसन्धानका निष्कर्ष आदानप्रदान गर्ने तथा बिरामीलाई अझ प्रभावकारी उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार रोकथामदेखि उपचारसम्मका सबै पक्षमा विशेषज्ञहरूको साझा छलफलले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा ठोस योगदान पुर्‍याउँछ।

पर्यटन व्यवसायी गनेशबहादुर भट्टराईले पोखराको भौगोलिक अवस्था, बदलिँदो जीवनशैली, घट्दो शारीरिक सक्रियता र बढ्दो मानसिक तनावले मुटुरोगको जोखिम बढाउन सक्ने उल्लेख गर्दै स्थानीय परिवेशअनुसार स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला तथा मुटुरोगको सफल उपचारपछि स्वास्थ्यलाभ गरेका व्यक्तिहरूले पनि आफ्ना अनुभव साझा गरेका थिए। उनीहरूले समयमै स्वास्थ्य परीक्षण, सही उपचार र सकारात्मक जीवनशैली अपनाएमा मुटुरोगलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे।

हेल्दी हार्ट नेपाल पोखराका उपाध्यक्ष भरतराज पराजुलीले यस्ता कार्यक्रमले चिकित्सकहरूबीच ज्ञान, अनुभव तथा आधुनिक उपचार पद्धतिबारे निरन्तर छलफल गर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने चिकित्सक, अतिथि, साझेदार संस्था तथा सहभागीप्रति आभार व्यक्त गरे।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेल तथा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले पनि मुटुरोगले समाजमा पारिरहेको प्रभाव, स्वास्थ्य नीतिका चुनौती र समाधानका सम्भावित उपायबारे आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रमभर विशेषज्ञहरूले जटिल मुटुरोगको उपचारमा प्रयोग भइरहेका आधुनिक प्रविधि, आपत्कालीन उपचार प्रणाली, बिरामीको जीवनरक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी विषयमा प्राविधिक समीक्षा गरेका थिए। कार्यक्रमको सञ्चालन हेल्दी हार्ट नेपालका सचिव प्रकाश जीसीले गरेका थिए।

कार्यक्रमले उपचार मात्र पर्याप्त नहुने निष्कर्ष निकाल्दै मुटुरोग नियन्त्रणका लागि स्वस्थ जीवनशैलीको विकास, नियमित स्वास्थ्य परीक्षण, विशेषज्ञ सेवाको सहज पहुँच तथा सरकार, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएको आयोजकले जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected