0Shares

ललितपुर।  नेपाली कांग्रेस केन्द्रीय कार्यालयले सञ्चालन गरिरहेको ‘जरा अभियान’ को समापन कार्यक्रम आगामी साउन ६ गते आयोजना गर्न सम्पूर्ण जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ।

महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्रअनुसार पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका अनुसार सञ्चालन भइरहेको अभियानअन्तर्गत क्रियाशील सदस्यता वितरण, नयाँ सदस्यता फाराम संकलन तथा विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने कार्यलाई तीव्र बनाउन आग्रह गरिएको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अभियानको अवधि साउन ३ गतेसम्म थप गरिएको पनि पत्रमा उल्लेख छ।

युवा केन्द्रित विशेष अभियानअन्तर्गत जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिहरू र पालिकामा खटिएका प्रतिनिधिहरूले साउन ३ गतेसम्म अभियान सञ्चालन गर्ने तथा पालिकाबाट फर्किएका प्रतिनिधिहरूले साउन ४ गते जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिलाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी, साउन ६ गते जननायक बी.पी. कोइरालाको ४४औँ स्मृति दिवस को अवसरमा जिल्ला कार्यसमितिको आयोजनामा व्यापक सहभागितासहित ‘जरा अभियान’ को समापन कार्यक्रम गर्न नेपाली कांग्रेसले सम्पूर्ण जिल्ला कार्यसमितिलाई अनुरोध गरेको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected