लायन्समा उत्कृष्ट कार्यको कदर, विभिन्न विधामा अवार्ड वितरण

काठमाडौं, साउन १५ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालको लायन वर्ष २०२५/२६ को अवार्ड वितरण समारोह शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित होटल मण्डला नर्थिङ लर्ड्स प्राइममा सम्पन्न भएको छ। कार्यक्रममा वर्षभरि उत्कृष्ट योगदान पुर्याउने लायन्स क्लब, लिडर तथा विभिन्न संस्था र व्यक्तित्वलाई सम्मान तथा प्रतिष्ठित अवार्ड प्रदान गरिएको थियो।
समारोहका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय निर्देशक राजन लम्साल, मल्टिपल काउन्सिल चेयरपर्सन केशरबहादुर भण्डारी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसी, पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका तथा पूर्व डिष्ट्रिक्ट गभर्नरहरू इन्दु लम्साल, रामबहादुर बसेल, चन्द्रकुमार केसी र बिनोद ढुंगानालगायतले विभिन्न विधाका अवार्ड वितरण गरेका थिए।
सो अवसरमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले लायन्स अन्तर्राष्ट्रिय निर्देशकमा निर्वाचित भएका राजन लम्साललाई सम्मान गरिन्। उक्त सम्मानमार्फत लम्सालको नेतृत्व, लायन्स अभियानमा पुर्याएको योगदान तथा अन्तर्राष्ट्रिय तहमा नेपालको प्रतिनिधित्व गरेकोमा उच्च सम्मान व्यक्त गरिएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजन लम्सालले समाजसेवा चुनौतीपूर्ण भए पनि लायन्सले निस्वार्थ भावनाका साथ मानव सेवामा पुर्याएको योगदान प्रेरणादायी रहेको बताए। उनले विपद् व्यवस्थापन, स्वास्थ्य, शिक्षा तथा अवसरबाट वञ्चित समुदायको जीवनस्तर उकास्न लायन्सका सेवा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै सेवा नै सभ्य समाजको आधार भएको धारणा व्यक्त गरे। प्रत्येक नेपालीमा सेवाभावको विकास हुनुपर्नेमा जोड दिँदै उनले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता सुदृढ बनाउन सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय हुन आग्रह गरे।
मल्टिपल काउन्सिल चेयरपर्सन केशरबहादुर भण्डारीले निवर्तमान गभर्नर पार्वती खरेल पाण्डेको नेतृत्वलाई उदाहरणीय भन्दै महिला नेतृत्वले नेपालको लायनिज्ममा नयाँ उचाइ स्थापित गरेको बताए। उनले उनको कार्यकाल सम्पूर्ण लायन्स सदस्यका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरे।

डिष्ट्रिक्ट गभर्नर सूर्यकुमार केसीले सम्मानित बधाई दिँदै आगामी दिनमा पनि लायनवादप्रतिको प्रतिबद्धता कायम राखेर डिष्ट्रिक्टलाई अझ प्रभावकारी, गतिशील र सेवामुखी बनाउन आग्रह गरे।
निवर्तमान डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले आफ्नो कार्यकाल सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण लायन्स सदस्यप्रति कृतज्ञता व्यक्त गरिन्। उनले प्रदान गरिएका अवार्डहरू केवल सम्मानका प्रतीक नभई सेवा, समर्पण, नेतृत्व, इमानदारी र उत्तरदायित्वप्रतिको उच्च सम्मानको चिन्ह भएको बताइन्।
उनले सेवा भनेको केवल कार्यक्रम सम्पन्न गर्नु नभई मानवताको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गर्दै दुःखीको पीडामा मलम लगाउने, असहायको सहारा बन्ने र आशाविहीन जीवनमा आशा जगाउने कार्य नै लायनवादको वास्तविक सार भएको धारणा राखिन्। नेतृत्व पदभन्दा ठूलो जिम्मेवारी भएको उल्लेख गर्दै उनले आफ्नो कार्यकालका उपलब्धि कुनै एक व्यक्तिको नभई सम्पूर्ण टिमको सामूहिक सोच, सहकार्य र साझा प्रतिबद्धताको परिणाम भएको बताइन्।
पाण्डेले सम्मानित सदस्यहरूको अथक परिश्रम र सेवाभावले डिष्ट्रिक्टलाई थप सशक्त बनाएको उल्लेख गर्दै क्याबिनेट पदाधिकारी, क्लब अध्यक्ष, पूर्व गभर्नर, लायन्स तथा लियो सदस्य, परिवार, शुभेच्छुक र सम्पूर्ण सहयोगीप्रति विशेष आभार व्यक्त गरिन्। उनले कार्यकाल समाप्त भए पनि सेवाको यात्रा कहिल्यै समाप्त नहुने भन्दै आगामी नेतृत्वले अझ प्रभावकारी र ऐतिहासिक उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा क्याबिनेट सेक्रेटरी लिडरशिप एक्सिलेन्स अवार्ड अफ द इयर रामबहादुर श्रेष्ठ, लायन अफ द इयर महेन्द्रकुमार राठी, लिड टु सर्भिस, सर्भिस टु लिड अवार्ड विष्णुप्रसाद भण्डारी, लिगेसी अफ लायनिज्म अवार्ड अफ द इयर नवराज पाण्डे, एक्सिलेन्ट लायन अफ द इयर महेश पाण्डे, सर्भिस लिड एन्ड राइज अफ द इयर ऋषि गिरी, मोस्ट एक्टिभ लायन अफ द इयर डा. गोपाल प्रधान, मोस्ट एक्टिभ सपोर्टिङ अवार्ड अमृत शोभा खत्री तथा मोस्ट सपोर्टिङ अवार्ड सङ्गीता लुइँटेल, तेजनारायण श्रेष्ठ, सन्तोषकुमार श्रेष्ठ र बिनय अग्रवाललाई प्रदान गरिएको थियो।
त्यसैगरी बेस्ट डिष्ट्रिक्ट कोअर्डिनेटर अवार्ड अफ द इयर भावना बसेल, बेस्ट डिष्ट्रिक्ट चिफ अवार्ड अफ द इयर शिवबहादुर खड्का र भोला थापा तथा इमर्जिङ लायन अफ द इयर केशरबहादुर सिटौलालगायतलाई पनि विभिन्न प्रतिष्ठित अवार्ड प्रदान गरिएको थियो।
डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, पूर्व डिष्ट्रिक्ट गभर्नरहरूइन्दु लम्साल, रामबहादुर बसेल, चन्द्रकुमार केसी र बिनोद ढुंगाना, प्रथम तथा द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरद्वय शैलेन्द्रमोहन भट्टराई, विष्णुप्रसाद भण्डारीलगायतका वक्ताले लायन वर्ष २०२५/२६ मा डिष्ट्रिक्ट ३२५ ‘आई’ नेपालले निर्धारित लक्ष्यअनुसार उल्लेखनीय सफलता हासिल गर्दै लायन्स इन्टरनेसनलमा उत्कृष्ट डिष्ट्रिक्टका रूपमा आफ्नो पहिचान स्थापित गरेको बताए। उनीहरूले गभर्नर पार्वती खरेल पाण्डेको कार्यकाललाई डिष्ट्रिक्टको इतिहासकै सफल, प्रभावकारी र स्वर्णिम नेतृत्वमध्ये एकका रूपमा स्मरणीय रहने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन क्याबिनेट सेक्रेटरी रामबहादुर श्रेष्ठले गरेका थिए।















