0Shares

काठमाडौं । आर्थिक अभाव र लघुवित्त तथा वित्तीय शोषणका कारण कठिन जीवन बिताइरहेका करिब २०० जना पीडितलाई खाद्यान्न वितरण गर्दै लायन्स क्लब अफ काठमाडौं गुलमोहोर र लियो क्लब अफ काठमाडौं गुलमोहोरले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका छन्।

Caring by Sharing – We Serve’ अर्थात् साझेदारीमार्फत सेवा भन्ने भावनालाई आत्मसात् गर्दै आयोजित कार्यक्रममा प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो। आर्थिक संकटमा परेका परिवारलाई तत्काल राहत र आफूहरू एक्लो नभएको अनुभूति दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आइ का डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसी लगायत लायन्स तथा लियो क्लबका पदाधिकारी, सदस्य र सामाजिक सेवामा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै डिष्ट्रिक्ट गभर्नर  सूर्य केसीले आर्थिक तथा सामाजिक समस्याबाट प्रभावित नागरिकको पक्षमा गरिने सहयोग नै वास्तविक मानवीय सेवा भएको बताए ।

“लायन्स क्लबको उद्देश्य केवल कार्यक्रम आयोजना गर्नु होइन, समस्यामा परेका मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु हो। आज हामीले वितरण गरेको खाद्यान्न एउटा सामग्री मात्र होइन, पीडित परिवारप्रतिको हाम्रो साथ, संवेदना र जिम्मेवारीको प्रतीक हो साथै समाजमा पछाडि परेका तथा आर्थिक संकटमा रहेका समुदायसँग हातेमालो गर्दै सेवा अभियानलाई अझ व्यापक बनाउनुपर्छ ” गभर्नर केसीले भने ।

लायन्स क्लब अफ काठमाडौं गुलमोहोरका संस्थापक अध्यक्ष सन्दीप पराजुलीले सेवा कुनै एक दिनको अभियान नभई निरन्तर चलिरहने सामाजिक प्रतिबद्धता भएको बताउनुभयो।

“हामीले आज करिब २०० परिवारलाई खाद्यान्न सहयोग गरेका छौँ। तर हाम्रो उद्देश्य राहत बाँडेर सकिनु होइन, पीडितको पीडालाई महसुस गर्नु र उनीहरूको कठिन यात्रामा साथ दिनु हो। सहयोगका हातहरू जोडिँदा नै समाजमा आशाको उज्यालो फैलिन्छ,” संस्थापक अध्यक्ष पराजुलीले भने। उनका अनुसार समाजमा आर्थिक तथा सामाजिक रूपमा कमजोर अवस्थामा रहेका नागरिकलाई केन्द्रमा राखेर आगामी दिनमा पनि विभिन्न मानवीय तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिइनेछ।

लायन्स क्लब अफ काठमाडौं गुलमोहोर र लियो क्लब अफ काठमाडौं गुलमोहोरको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा क्लबका सदस्यहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण लायन्स तथा लियो सदस्य, सहयोगी मन र शुभेच्छुकप्रति आयोजकले आभार व्यक्त गरेको छ।

आर्थिक कठिनाइमा रहेका परिवारको अनुहारमा केही क्षण भए पनि मुस्कान ल्याउने प्रयासस्वरूप गरिएको यस अभियानले ‘सेवा शब्दमा होइन, व्यवहारमा देखिनुपर्छ’ भन्ने सन्देश दिएको छ। लायन्स क्लब अफ काठमाडौं गुलमोहोरले आगामी दिनमा पनि आवश्यकता र समस्याको पहिचान गर्दै समुदाय केन्द्रित सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected