
६ जनामा शल्यक्रियाको आवश्यकता पहिचान, १६ जनालाई निःशुल्क चस्मा उपलब्ध गराइने
अन्नपूर्ण, कास्की । आर्थिक अभाव वा स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा आँखाको समस्या लिएर बस्न बाध्य स्थानीयवासीका लागि माछापुच्छ्रे मा.बि.मा आयोजित निःशुल्क आँखा शिविर राहत बनेको छ।
पूर्व विद्यार्थी मञ्च माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको आयोजनामा सम्पन्न शिविरमा विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायका गरी करिब ४५० जनाले निःशुल्क आँखा परीक्षण तथा स्वास्थ्य सेवा लिएका छन्। परीक्षणका क्रममा ६ जनाको आँखामा शल्यक्रिया आवश्यक देखिएको छ भने १६ जनालाई लेन्सयुक्त चस्मा आवश्यक रहेको पहिचान गरिएको छ।
शिक्षा क्षेत्रमा सक्रिय पूर्व विद्यार्थी मञ्चले सामाजिक उत्तरदायित्वलाई स्वास्थ्य सेवासँग जोड्दै आयोजना गरेको शिविरमा हिमालय आँखा अस्पताल, घारीपाटनले प्राविधिक जनशक्ति तथा स्वास्थ्यकर्मी उपलब्ध गराएको थियो भने अन्नपूर्ण गाउँपालिका कास्कीले आर्थिक सहयोग गरेको थियो।
शिविरमा परीक्षण गरिएका ६ जनालाई थप उपचार तथा शल्यक्रियाका लागि सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था गरिएको छ। त्यस्तै, चस्मा आवश्यक देखिएका १६ जनालाई हिमालय आँखा अस्पताल, घारीपाटनमार्फत निःशुल्क लेन्सयुक्त चस्मा उपलब्ध गराइने आयोजकले जनाएको छ। आँखासम्बन्धी अन्य समस्या देखिएका सेवाग्राहीलाई समेत आवश्यक परामर्श तथा थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रिफर गरिएको थियो।

पूर्व विद्यार्थी मञ्च माछापुच्छ्रे मावि/क्याम्पसका अध्यक्ष फणिन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालतथा अन्नपूर्ण गाउँपालिका–२ का वडा अध्यक्ष पिताम्बर भण्डारी विशेष अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा पूर्व विद्यार्थी मञ्चका निवर्तमान अध्यक्ष विष्णुप्रसाद अधिकारी, संस्थापक अध्यक्ष गिरधारी दाहाल तथा पूर्व अध्यक्ष गायत्री अधिकारी पराजुलीलगायत मञ्चसँग आबद्ध अग्रज तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो। पूर्व अध्यक्ष तथा अग्रजहरूको उपस्थितिले कार्यक्रमलाई थप गरिमामय बनाएको आयोजकले जनाएको छ।
शिविरमा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो। आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य संस्थासम्म सहज पहुँच नपुगेका नागरिकका लागि यस्ता निःशुल्क स्वास्थ्य शिविर निकै उपयोगी हुने सहभागीहरूले बताएका थिए।
पूर्व विद्यार्थी मञ्चले शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य, सामाजिक सेवा र सामुदायिक उत्तरदायित्वका क्षेत्रमा समेत आफ्नो भूमिका विस्तार गर्ने उद्देश्यसहित शिविर आयोजना गरेको हो। करिब ४५० जनालाई प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्न सफल शिविरलाई आयोजकले समुदायप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्ने महत्वपूर्ण पहलका रूपमा लिएको छ।
शिविर सफल बनाउन आर्थिक सहयोग गर्ने अन्नपूर्ण गाउँपालिका, प्राविधिक तथा स्वास्थ्य सेवा उपलब्ध गराउने हिमालय आँखा अस्पताल, घारीपाटन, स्थानीय व्यवस्थापनमा सहयोग गर्ने माछापुच्छ्रे माध्यमिक विद्यालय तथा माछापुच्छ्रे क्याम्पस, स्वास्थ्यकर्मी, स्वयंसेवक, अभिभावक, विद्यार्थी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति पूर्व विद्यार्थी मञ्चले आभार तथा धन्यवाद व्यक्त गरेको छ।
















