अन्नपूर्णका बाढी प्रभावित सडक पुनर्निर्माणमा जुट्यो प्रदेश सरकारदेखि स्थानीय तहसम्मको संयन्त्र

अन्नपूर्ण, कास्की । बाढीपहिरोका कारण क्षतिग्रस्त बनेको नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्डलाई तत्काल सञ्चालनमा ल्याउन प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला निकाय एकजुट भएका छन्। अन्नपूर्ण गाउँपालिका–८, ९, १० र ११ मा बाढीपहिरोले सडक तथा भौतिक संरचनामा पुर्याएको क्षतिको पुनर्निर्माणका लागि तत्काल अस्थायी संरचना निर्माणदेखि दीर्घकालीन पुनर्निर्माणसम्मको तयारी अघि बढाइएको हो।
सडक पुनर्निर्माण तथा प्रभावित नागरिकको दैनिक आवागमन सहज बनाउने विषयमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेटवार्ता गरेका छन्। कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको समन्वयमा भएको भेटमा प्रदेशका अर्थमन्त्री जित शेरचन, प्रदेशसभा सदस्य प्रकाश बराल, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, सम्बन्धित मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता थियो।
भेटका क्रममा मुख्यमन्त्री पाण्डेले बाढीपहिरोबाट प्रभावित नागरिकको दैनिक जनजीवन सहज बनाउन सबै तह र पक्षबीच समन्वय गरी तत्काल काम अघि बढाउन निर्देशन दिँदै बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मुख्यमन्त्रीसँगको भेटलगत्तै अध्यक्ष केसीको आह्वानमा नयाँपुल–वीरेठाँटी–घान्द्रुक सडकखण्डको क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षणसहित सर्वपक्षीय बैठक आयोजना गरिएको थियो। अन्नपूर्ण गाउँपालिका–८ को वडा कार्यालयमा भएको बैठकमा वीरेठाँटी पुल तथा आसपासको बस्तीको सुरक्षा, वैकल्पिक सडकमार्गको प्रयोग, भत्किएका सडकमा तत्काल अस्थायी संरचना निर्माण गरी यातायात सञ्चालन गर्ने र पानीको बहाव घटेपछि दीर्घकालीन रूपमा बलियो संरचनासहित पुनर्निर्माण गर्ने विषयमा छलफल भएको थियो।

एक्यापको २० लाख सहयोग, सेनाले १०० स्वयंसेवक खटाउने
प्रभावित क्षेत्रमा तत्काल आवागमन सहज बनाउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गाउँपालिकालाई २० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। एक्यापका कार्यकारी निर्देशक डा. रविन कडरियाले बैठकमा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
त्यस्तै, गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले प्रारम्भिक चरणमा आवश्यक ग्याबिन जाली उपलब्ध गराउने भएको छ। नेपाली सेनाका कर्णेल हरि खड्काले ग्याबिन जाली भर्न १०० जना स्वयंसेवक परिचालन गर्ने बताएका छन्। उपल्लो मोदीखोला जलविद्युत् कम्पनीले सडक मर्मत तथा पुनर्निर्माणका लागि एक्साभेटर मेसिन उपलब्ध गराउने भएको छ।
यसबाट सडकमा तत्काल अस्थायी संरचना निर्माण गरी अवरुद्ध यातायात सञ्चालन गर्ने तयारी गरिएको पालिका अध्यक्ष बिष्णु बहादुर केसीले बताए । दीर्घकालमा भने बाढी तथा पहिरोको जोखिमलाई समेत ध्यानमा राखेर सुरक्षित र दिगो संरचना निर्माण गर्ने लक्ष्य राखिएको केसीले बताए ।
बैठक तथा निरीक्षणमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, उपाध्यक्ष चन्द्रकला देवकोटा, पूर्वअध्यक्ष युवराज कुँवर, माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङ, गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर नवराज शर्मा, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, नेपाली सेनाका कर्णेल हरि खड्का, सशस्त्र प्रहरीका डीएसपी प्रेम सिग्देल, एक्यापका कार्यकारी निर्देशक डा. रविन कडरिया, नेपाल प्रहरीका प्रतिनिधि तथा सम्बन्धित वडाका अध्यक्षहरूको सहभागिता थियो।
गाउँपालिका प्रवक्ता एवं वडा नं. ७ का अध्यक्ष भरतमान गुरुङका अनुसार स्थानीयवासी नेपाली कांग्रेसका नेता मनोज गुरुङ, देवेन्द्र शेरचन, वडा नं. १ का अध्यक्ष तुलसी प्रसाद अधिकारी, वडा नं. ८ का कार्यवाहक अध्यक्ष गौमाया नेपाली, वडा नं. ९ का अध्यक्ष रमेश गुरुङ, वडा नं. १० का अध्यक्ष गौतम गुरुङ र वडा नं. ११ का अध्यक्ष हिमबहादुर गुरुङसहित राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका प्राविधिक, उपल्लो मोदीखोला जलविद्युत् कम्पनीका इन्जिनियर दीपक भुसाल तथा स्थानीय सामाजिक व्यक्तित्वहरूको समेत सहभागिता थियो।
बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा अन्नपूर्ण क्षेत्रको जनजीवन, स्थानीय आवागमन तथा पर्यटन गतिविधिसमेत प्रभावित बनेको अवस्थामा सरोकारवाला निकायको यो पहलले तत्काल राहत पुग्ने अपेक्षा गरिएको छ। बैठकले ‘पहिले यातायात सुचारु, त्यसपछि दीर्घकालीन पुनर्निर्माण’ को प्राथमिकतासहित काम अघि बढाउने निष्कर्ष निकालेको छ।













