भूपू सैनिकको साथमा भारतीय सेना : स्वास्थ्यदेखि यातायातसम्म सुविधा विस्तारको प्रतिबद्धता

पोखरा — भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिक तथा उनीहरूका परिवारको कल्याण र सुविधाका लागि भारतीय सेना निरन्तर साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
पोखरामा बुधबार आयोजित पेन्सन क्याम्पमा सम्बोधन गर्दै सेनाध्यक्ष सेठले भूतपूर्व सैनिकलाई भारत–नेपाल सम्बन्धका “जीवन्त प्रतिनिधि” को संज्ञा दिए। भारतीय सेनामा सेवा गरेका गोर्खा सैनिकको योगदानप्रति सम्मान व्यक्त गर्दै उनले उनीहरूको हित र कल्याणलाई भारतीय सेनाले आफ्नो जिम्मेवारीका रूपमा लिएको बताए।
“तपाईंहरूको हित, वेलफेयर र सुविधाका लागि जे-जति सम्भव हुन्छ, हामी पूरा निष्ठा र समर्पणका साथ गर्नेछौँ,” सेठले भने, “तपाईंहरूले आफूलाई कहिल्यै एक्लो नसम्झिनुहोस्, भारतीय सेना सधैँ तपाईंहरूको साथमा उभिएको छ।”
सेठले पोखरास्थित एक्स–सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्किम (ईसीएचएस) पोलिक्लिनिकलाई थप आधुनिक र सुविधासम्पन्न बनाउन आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रयास भइरहेको बताए।

नेपालमा सन् २०१४ देखि सञ्चालनमा रहेको ईसीएचएसमार्फत भूतपूर्व सैनिक तथा उनीहरूका परिवारले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार सेवा पाइरहेको उनले जानकारी दिए। ईसीएचएसअन्तर्गत सूचीकृत अस्पतालको संख्या थप विस्तार गर्ने कामसमेत अघि बढिरहेको उनको भनाइ थियो।
पश्चिम नेपालका भूतपूर्व सैनिकलाई लक्षित गरी कोहलपुरमा नयाँ ईसीएचएस पोलिक्लिनिक सञ्चालनमा आएको उल्लेख गर्दै सेठले यसबाट पश्चिम क्षेत्रका पूर्वसैनिक तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवा लिन सहज हुने विश्वास व्यक्त गरे।
“यो नयाँ पोलिक्लिनिकलाई भारतीय सेनाको तर्फबाट नेपालका सबै भूपू सैनिक र उनीहरूका परिवारलाई समर्पित गर्दछु,” उनले भने।
भूतपूर्व सैनिकहरूले लामो समयदेखि माग गर्दै आएको सुनौलीदेखि गोरखपुरसम्मको बस सेवाबारे पनि भारतीय सेनाले गम्भीरतापूर्वक विचार गरिरहेको सेठले बताए।
बस सेवा सञ्चालन भएमा भूतपूर्व सैनिकलाई गोरखपुरलगायतका क्षेत्रमा पुगेर ईसीएचएस तथा अन्य स्वास्थ्य सुविधा लिन सहज हुने उनको भनाइ थियो।
भूतपूर्व सैनिकका परिवारलाई आत्मनिर्भर बनाउन विभिन्न जिल्ला सैनिक बोर्डमार्फत कम्प्युटर, ब्युटिसियन, फेसन डिजाइनिङलगायतका व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन भइरहेको पनि सेठले जानकारी दिए।
सिक्किमस्थित मेघाभी स्किल्स युनिभर्सिटीसँग भएको सम्झौतापछि ती तालिमका प्रमाणपत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मान्य हुने व्यवस्था गरिएको उनले बताए।
भारत–नेपाल सम्बन्ध केवल दुई छिमेकी राष्ट्रबीचको सम्बन्ध नभई संस्कृति, परम्परा, धार्मिक आस्था र साझा इतिहाससँग जोडिएको सेठले बताए। भारतीय र नेपाली सेनाबीचको विशेष सम्बन्ध पनि यही ऐतिहासिक सम्बन्धको महत्वपूर्ण हिस्सा भएको उनको भनाइ थियो।
गोर्खा सैनिकको वीरता, बहादुरी, बफादारी र बलिदानको प्रशंसा गर्दै उनले भारतीय सेनामा गोर्खा सैनिकले विभिन्न युद्ध र चुनौतीमा अदम्य साहस प्रदर्शन गरेको स्मरण गरे।
सेनाध्यक्षको जिम्मेवारी सम्हालेपछि भारतीय सेनाका लागि तय गरेका पाँच प्राथमिकताबारे समेत सेठले कार्यक्रममा जानकारी दिए। उनका अनुसार सतर्कता तथा तत्परता, नवप्रवर्तन तथा रूपान्तरण, संयुक्तता, आत्मनिर्भरता र योद्धा भारतीय सेनाका प्रमुख प्राथमिकता हुन्।
भारतीय सेनामा कार्यरत कनिष्ठ सैनिकदेखि भूतपूर्व सैनिकसम्म सबैलाई आफूले ‘योद्धा’ का रूपमा हेर्ने गरेको उनले बताए।
“जुनियर–मोस्ट सोल्जरदेखि यहाँ मेरा सामुन्ने बसेका सबैभन्दा वरिष्ठ भूपूसम्म सबै मेरो शब्दकोषमा योद्धा हुन्,” सेठले भने, “यी सबै योद्धामाथि भारतीय सेनालाई गर्व छ।”
कार्यक्रमको अन्त्यमा उनले भारतको सेवामा भूतपूर्व सैनिकहरूले पुर्याएको योगदानप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि उनीहरूको कल्याण र सुविधाका लागि भारतीय सेनाको सहयोग निरन्तर रहने प्रतिबद्धता दोहोर्याए।













