0Shares

पोखरा । पोखरा महानगरपालिका–१७ हर्कमेयर चोकमा सडक नालीबाट आएको भलले बगाउँदा आमा–छोरीको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ४ बजे बिरौटाबाट पृथ्वीचोकतर्फ स्कुटरमा आउँदै गरेकी पोखरा–३० ढुङ्गेपाटनकी २६ वर्षीया सुष्मा दाहालले स्कुटर साइडमा लगाएर झरीमा हिँड्ने क्रममा सडक नालीको तीव्र बहावमा परेकी थिइन्। उनलाई उनकी २ वर्षीया छोरी रानीका दाहालसहित भलले बगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयको सहयोगमा आमा–छोरीलाई पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो।

सुष्माको शरीरमा बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर रहेको थियो। उनको उपचारकै क्रममा शुक्रबार राति ९ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उपचारका क्रममा उनका श्रीमान् ३० वर्षीय कमल दाहाल पनि संलग्न थिए।

त्यस्तै, सुष्माकी २ वर्षीया छोरी रानीका दाहालको पनि उपचारकै क्रममा शनिबार बिहान १ः२१ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल दुवैको शव गण्डकी मेडिकल कलेजमै रहेको प्रहरीले जनाएको छ। घटनास्थल वडा प्रहरी कार्यालय बैदामबाट करिब दुई किलोमिटर पूर्व–दक्षिणमा पर्छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected