कांग्रेसको इतर समूहले भन्यो– ‘असोज १५ देखि हुने वडा अधिवेशनमा सहभागी होऔँ’

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनका लागि असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वले असोज ३ गतेदेखि सुरु गर्ने गरी अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गर्दै आएको इतर समूहले भने असोज १५ गतेदेखि आफ्नै कार्यतालिकाअनुसार वडा अधिवेशन अघि बढाउने जनाएको हो।
इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा १५औँ महाधिवेशन केन्द्रीय महाधिवेशन तयारी समिति गठन गरेको छ। समितिका संयोजक कोइरालाले सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै असोज १५ गतेदेखि हुने वडा अधिवेशनसहित कांग्रेसका विभिन्न तहका अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान गरे।
कांग्रेसको महाधिवेशनलाई लिएर पार्टीभित्र दुई छुट्टाछुट्टै कार्यतालिका अघि सारिएका छन्। संस्थापन समूहले मंसिर १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने मिति तय गरेको छ भने इतर समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति प्रस्ताव गरेको छ।
कोइरालाले जारी गरेको विज्ञप्तिमा पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राखेर सुरुदेखि नै सहमति, सहकार्य र एकताका आधारमा महाधिवेशन सम्पन्न गर्न आफूहरूले प्रयास गरेको उल्लेख छ।
‘पार्टीलाई विभाजनमा धकेल्ने कुनै पनि कदमबाट बच्न संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न आग्रह गरियो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन।’
इतर समूहले विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न र पार्टी एकतामा थप क्षति नपुर्याउन आग्रह गरिए पनि त्यसलाई बेवास्ता गरिएको जनाएको छ।
कोइरालाले पार्टीको महाधिवेशन मिति संस्थापन समूहले एकलौटी रूपमा घोषणा गरी कार्यतालिका ल्याएको आरोपसमेत लगाएका छन्।
यस्तै, कांग्रेसको आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको निर्णय नआउँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने इतर समूहको निष्कर्ष छ।
इतर समूहले अब असोज १५ गतेदेखि वडा तहबाटै आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।












