कांग्रेसमा देउवा–शेखर पक्षको माग सम्बोधन, १४औँ महाधिवेशनका केन्द्रीय सदस्यले पाए फेरि हैसियत

काठमाडौँ। नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित तर विशेष महाधिवेशनमा सहभागी नभएका केन्द्रीय सदस्यहरूलाई पुनः केन्द्रीय सदस्यकै हैसियत दिने निर्णय गरेको छ।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनमा सहभागी नभएका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सोही हैसियत कायम गर्ने निर्णय गरेको हो। निर्णयसँगै विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमितिबाट बाहिर रहेका ती नेताहरूले अब केन्द्रीय सदस्यको हैसियत पाउने भएका छन्।
कांग्रेस प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनमा सहभागी नभएका र १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई सोही हैसियत दिने निर्णय भएको जानकारी दिए।
उनका अनुसार विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा नरहेका १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूले अब केन्द्रीय सदस्यको हैसियत पाउनेछन्।
यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग गर्दै आएका थिए।
कांग्रेसको पछिल्लो निर्णयले विशेष महाधिवेशनपछि बाहिरिएका पुराना केन्द्रीय सदस्यहरूको हैसियतबारे देखिएको अन्योलसमेत अन्त्य गरेको छ।











