संस्कृति, राजनीति र आफ्नै जीवनको कथा समेट्दै पुण्यप्रसाद पौडेलको ‘मेरो संस्कृति र म’ सार्वजनिक

पोखरा । संस्कृति, इतिहास, समाज र राजनीतिक यात्राका विविध आयाम समेटिएको पुस्तक ‘मेरो संस्कृति र म’ सार्वजनिक भएको छ। नेकपा एमालेका नेता तथा जिल्ला विकास समिति कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेलद्वारा लिखित पुस्तक बिहीबार पोखरामा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको हो।
पौडेलको यो दोस्रो कृति हो। तीन खण्डमा विभाजित पुस्तकमा संस्कृति र सभ्यतादेखि नेपालको आर्थिक तथा सामाजिक अवस्था, राजनीतिक परिवर्तन र लेखककै जीवनयात्रासम्मका विषय समेटिएका छन्।
पुस्तकको पहिलो खण्ड ‘संस्कृति’ मा संस्कृति र सभ्यताबीचको सम्बन्ध, संस्कृति निर्माण तथा परिवर्तनको प्रक्रिया र नेपालको बहुजातीय एवं बहुभाषिक सांस्कृतिक अवस्थाबारे चर्चा गरिएको छ। यस खण्डमा रामायण महाकाव्य, धर्मको उत्पत्ति, ऋग्वैदिक साहित्य, गणेश पुराण, नेपालका खस तथा मगर जाति, मष्टो संस्कृति र पाउँदुर शिवालयजस्ता विषय पनि समेटिएका छन्।
धर्मको उत्पत्ति र रामायणको ऐतिहासिकताबारे लेखकले स्थापित मान्यतामाथि प्रश्न उठाउँदै आफ्ना तर्क र निष्कर्ष प्रस्तुत गरेका छन्। यसले पुस्तकलाई सांस्कृतिक विषयको सामान्य परिचर्चामा सीमित नराखी इतिहास, परम्परा र मान्यतामाथिको विमर्शका रूपमा समेत अघि बढाएको छ।
‘विविध’ शीर्षकको दोस्रो खण्डमा समाजवाद, नेपालको आर्थिक अवस्था, छोटी पसल, पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको विषय, पुष्पलाल श्रेष्ठको योगदान, उपत्यकाको बनोट र पर्यटन विकासलगायतका विषय समेटिएका छन्। २०८२ भदौ २३ र २४ गतेको राजनीतिक उथलपुथलबारे पनि लेखकले पुस्तकमा चर्चा गरेका छन्।
पोखराको उत्पत्ति र पर्यटन विकासबारे खोजमूलक सामग्री समेटिएको पुस्तकमा पर्यटकीय राजधानी घोषणापछि पनि आवश्यक पूर्वाधार विकास गर्न बाँकी रहेको विषय उठाइएको छ। फेवातालसहित पोखराका तालहरूको संरक्षणमा ध्यान दिनुपर्नेमा समेत लेखकले जोड दिएका छन्।
पुस्तकको तेस्रो खण्ड ‘आफ्नै कथा’ मा पौडेलले आफ्नो जन्म, पारिवारिक पृष्ठभूमि, अध्ययन र राजनीतिक जीवनका अनुभव प्रस्तुत गरेका छन्। कम्युनिस्ट आन्दोलनमा प्रवेश, २० महिनाको जेल जीवन, पुष्पलाल श्रेष्ठबाट प्रभावित राजनीतिक यात्रा तथा गण्डकी–धौलागिरी माले हुँदै नेकपा मालेमा समाहित भएको प्रसंग यस खण्डमा समेटिएको छ।
जिल्ला विकास समिति कास्कीको सभापतिका रूपमा बिताएको समयदेखि त्यसपछिका राजनीतिक तथा सामाजिक गतिविधिसम्मका अनुभव पनि पुस्तकमा समावेश छन्। यसले लेखकको व्यक्तिगत जीवनसँगै उनको राजनीतिक संघर्ष र सामाजिक दृष्टिकोणलाई पाठकसमक्ष प्रस्तुत गरेको छ।
२०११ साल भदौ १५ गते कास्कीको तत्कालीन पाउँदुरमा जन्मिएका पौडेल विभिन्न पत्रपत्रिकामा दर्जनौँ फुटकर लेखरचना प्रकाशित गर्दै आएका छन्। उनको यसअघि ‘समाज समीक्षा’ पुस्तक प्रकाशित भइसकेको छ।
पुस्तक लोकार्पण कार्यक्रममा शुक्रराज शर्मा, शंकर बराल, श्रीनाथ बराल र गेहेन्द्रेश्वर कोइरालालगायतले मन्तव्य राखेका थिए। पुस्तक तथा लेखकका विषयमा रामराज रेग्मी, धनञ्जय दवाडी र प्रचण्ड शक्तिमान गुरुङले परिचर्चा प्रस्तुत गरेका थिए।
कार्यक्रममा लेखकका भाइ तीर्थराज पौडेलले पौडेलको लामो राजनीतिक तथा सामाजिक यात्रा, स्पष्टवादी स्वभाव र अध्ययनशील व्यक्तित्वबारे चर्चा गरेका थिए। उनले ‘मेरो संस्कृति र म’ संस्कृति र इतिहासमा मात्र सीमित नभई लेखकको व्यक्तिगत जीवन, राजनीतिक अनुभव र सामाजिक दृष्टिकोणसमेत समेटिएको कृति भएको बताए।
तीर्थराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माधव बास्तोलाले स्वागत मन्तव्य राखेका थिए भने जीवनप्रसाद आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।













