0Shares

काठमाडौं। सरकारले भारत, चीन, अमेरिका, बेलायतसहित १३ मुलुकका लागि राजदूत सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न क्षेत्रका व्यक्तिलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो।

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार प्रस्तावित राजदूतहरूलाई संसदीय सुनुवाइका लागि पठाइनेछ। सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकबाट अग्रिमो प्राप्त गरी राष्ट्रपतिले राजदूत नियुक्त गर्नेछन्।

सरकारले कूटनीति, सुरक्षा, अर्थशास्त्र, विकास, शिक्षा, सार्वजनिक प्रशासन तथा अन्तर्राष्ट्रिय सहकार्यलगायत क्षेत्रमा अनुभव भएका व्यक्तिहरूलाई राजदूतका लागि सिफारिस गरेको छ।

प्रस्तावित राजदूतहरू उनीहरूको संक्षिप्त परिचय

१. डा. निश्चलनाथ पाण्डे — भारत

नेपालको विदेश मामिला तथा परराष्ट्र नीतिका अध्येता पाण्डे सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक हुन्। उनले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि गरेका उनले नेपालको परराष्ट्र नीति र क्षेत्रीय सहकार्यबारे पुस्तक तथा अनुसन्धानात्मक सामग्री प्रकाशित गरेका छन्।

२. डा. कल्याणराज शर्मा — चीन

नेपाल–चीन सम्बन्धका विज्ञ तथा अर्थशास्त्री शर्मा चीनको फुदान विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन्। उनी नेपाल–चीन मैत्री मञ्च र काउन्सिल अफ साइनोलोजिस्ट्स–नेपालका अध्यक्ष छन्। व्यापार, पर्यटन, आर्थिक कूटनीति तथा बेल्ट एन्ड रोड सहकार्यका विषयमा अध्ययन र व्याख्यान गर्दै आएका उनलाई नेपाल भूषण तथा सिल्क रोड फ्रेन्डसिप अवार्ड प्रदान गरिएको छ।

३. चिरनजंग थापा — संयुक्तराज्य अमेरिका

राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ थापाले अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा काम गर्दै आएका छन्। यसअघि सेफरवर्ल्ड र द एसिया फाउन्डेसनमा सुरक्षा तथा नागरिक–सैन्य सम्बन्धसम्बन्धी जिम्मेवारी सम्हालेका थिए। उनले कोलम्बिया विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्।

४. अवकाशप्राप्त प्रधानसेनापति गौरवशमशेर जबरा — बेलायत

नेपाली सेनाका पूर्वप्रधानसेनापति जबराले सन् २०१२ देखि २०१५ सम्म सेनाको नेतृत्व गरेका थिए। उनले माओवादी लडाकु समायोजन, सैन्य योजना तथा भूकम्पपछिको उद्धार अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका उनी हाल कन्जर्भेसन एलायन्स नेपालका अध्यक्ष छन्।

५. जिग्यानकुमार थापा — जापान

नेपाल–जापान सम्बन्ध विस्तारमा दुई दशकभन्दा बढी अनुभव भएका थापा कानागावा इन्टरनेसनल फाउन्डेसनमा कार्यरत छन्। उनले दुवै देशका उच्चस्तरीय भ्रमण तथा संवादको समन्वय गरेका छन्। जापानका विभिन्न विश्वविद्यालयमा अध्यापनसमेत गर्दै आएका उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुनमा स्नातकोत्तर गरेका छन्।

६. सुरेशकुमार कर्ण — इजराइल

सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीतिमा तीन दशकभन्दा बढी अनुभव भएका कर्णले कुमारी बैंक र नेपाल बैंक लिमिटेडमा प्रमुख जिम्मेवारी सम्हालेका थिए। उनी कम्प्युटर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष हुन्। मोबाइल बैंकिङ, कोर बैंकिङ प्रणाली तथा राष्ट्रिय सूचना प्रविधि नीति निर्माणमा उनको भूमिका रहेको छ।

७. प्राप्ति शेरचन — स्पेन

अन्तर्राष्ट्रिय विकास तथा साझेदारीमा १५ वर्षको अनुभव भएकी शेरचन विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल फाइनान्स कर्पोरेसन (IFC) मा कार्यरत छन्। उनले लैंगिक समानता, महिला आर्थिक सशक्तीकरण तथा समावेशी वित्तीय सेवासम्बन्धी कार्यक्रमको नेतृत्व गरेकी छन्। उनले दिगो अन्तर्राष्ट्रिय विकासमा एमबीए गरेकी छन्।

८. शारू जोशी — जर्मनी

श्रम आप्रवासन, लैंगिक समानता तथा अन्तर्राष्ट्रिय सहकार्यमा २५ वर्षभन्दा बढी अनुभव भएकी जोशीले UN Women मा विभिन्न जिम्मेवारी सम्हालेकी छन्। वैदेशिक रोजगार ऐन, नियमावली तथा नीतिनिर्माणमा योगदान गरेकी उनी हाल वरिष्ठ नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध परामर्शदाताका रूपमा कार्यरत छन्। उनी श्रम आप्रवासनसम्बन्धी पुस्तक तथा लेखकी लेखिका पनि हुन्

९. डा. पद्माक्षी राणा — ओमान

दिगो विकास, नवप्रवर्तन तथा उद्यमशीलतामा १५ वर्षभन्दा बढी अनुभव भएकी राणा इम्प्याक्ट हब काठमाडौंकी कार्यकारी निर्देशक तथा सहसंस्थापक हुन्। उनले विभिन्न अन्तर्राष्ट्रिय विकास साझेदारसँग सहकार्य गरेकी छन्। क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेकी उनको अनुसन्धान दिगो व्यवसाय तथा खाद्य उत्पादन क्षेत्रमा केन्द्रित छ।

१०. चूडामणि खरेल — मलेसिया

शिक्षा तथा सार्वजनिक प्रशासनको अनुभव भएका खरेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्। उनले विभिन्न कलेजमा अंग्रेजी अध्यापन गरेका छन्। उनी नेपाल योग खेलकुद संघका महासचिव हुन् र राष्ट्रिय खेलकुद प्रशासनमा समेत काम गरिसकेका छन्।

११. प्रा. डा. संगम श्रेष्ठ — दक्षिण कोरिया

जल सुरक्षा, जलवायु उत्थानशीलता तथा अन्तर्राष्ट्रिय सहकार्यका विज्ञ श्रेष्ठ थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक तथा ग्लोबल वाटर एन्ड स्यानिटेसन सेन्टरका संस्थापक सहनिर्देशक हुन्। उनले ३० भन्दा बढी देशका सरकार तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरेका छन्। उनका २०० भन्दा बढी अनुसन्धानात्मक लेख प्रकाशित छन्।

१२. डा. मञ्चला झा — श्रीलंका

सुशासन तथा सार्वजनिक नीतिकी विशेषज्ञ झाले सन् २०१५ देखि २०१९ सम्म सत्य निरूपण तथा मेलमिलाप आयोगको आयुक्तका रूपमा काम गरेकी थिइन्। उनी त्रिभुवन विश्वविद्यालयमा सहायक प्राध्यापक छन्। संक्रमणकालीन न्याय, महिला, शान्ति तथा सुरक्षा र सार्वजनिक नीतिका विषयमा उनको अनुभव छ।

१३. गिरीबहादुर सुनार — साउदी अरब

समाजशास्त्री तथा विकास विज्ञ सुनारसँग अन्तर्राष्ट्रिय विकास, नीतिगत परामर्श र सामाजिक समावेशीकरणका क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव छ। उनले विश्व बैंक तथा एसियाली विकास बैंकका पूर्वाधार र जल क्षेत्रका कार्यक्रममा काम गरेका छन्। उनी हाल सोसल, इन्भाइरोन्मेन्ट एन्ड रुरल डेभलपमेन्ट नेपालका सचिव छन्।

सरकारले सिफारिस गरेका १३ जनाको नाम संसदीय सुनुवाइका लागि पठाइनेछ। सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा अग्रिमोका लागि नाम पठाइनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुनेछन्।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected