0Shares

पोखरा, ३ असोज

पोखरामा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा १ सय १६ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। गोपाल सेवा केन्द्र (गोपालधाम), पोखरा–१८ मा शनिबार आयोजित शिविरमा सहभागीहरूको मधुमेह तथा कलेजोसम्बन्धी परीक्षण गरिएको हो।

गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (यूआरएल) को प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो। शिविरमा सहभागीहरूको निःशुल्क स्वास्थ्य परीक्षणसँगै रोगसम्बन्धी परामर्शसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. शंकर बरालले पेट तथा कलेजोसम्बन्धी विभिन्न रोग, तिनका कारण र रोकथामका उपायबारे जानकारी गराए। उनले ग्यास्ट्रिक हुनुमा खानपान मात्र नभई ब्याक्टेरियाको संक्रमणसमेत जिम्मेवार हुन सक्ने बताए।

‘ग्यास्ट्रिक विभिन्न कारणले हुन सक्छ। सधैँ औषधि खाइरहँदा हानि पनि हुन सक्छ,’ उनले भने, ‘डाक्टरको परामर्शमा मात्रै औषधि खानुपर्छ। बेलाबेलामा स्वास्थ्य परीक्षण पनि गराइरहनुपर्छ।’

यूआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले संस्थाले सञ्चालन गर्दै आएका स्वास्थ्य शिविरहरू विश्वास र सेवाप्रतिको प्रतिबद्धताका प्रमाण भएको बताए।

‘हामी यो क्षेत्रको एक मात्र आईएसओ प्रमाणपत्र प्राप्त ल्याब हौँ। गुणस्तर र सेवामा पनि हामी पहिलेदेखि नै अग्रणी छौँ,’ उनले भने।

गोपालधामका अध्यक्ष लक्ष्मीशरण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रामजीप्रसाद पराजुली र महासचिव कल्पना सुवेदीले पनि मन्तव्य राखेका थिए।

स्थापनाकालदेखि नै यूआरएलले आफ्नै पहल तथा विभिन्न संघसंस्थासँगको सहकार्यमा निःशुल्क रक्त परीक्षण शिविर सञ्चालन गर्दै आएको छ। शनिबार आयोजित शिविर संस्थाको २३८औँ शिविर भएको जनाइएको छ।

२०७० सालमा स्थापना भएको यूआरएलले गण्डकी प्रदेशका विभिन्न जिल्लामा २४ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected