भोट हाल्नुअघि यो पढ्नुस् : कांग्रेस अधिवेशनमा कुन क्लस्टरबाट कति जना छानिन्छन्?


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। मौसमका कारण केही क्षेत्रमा मिति तलमाथि भए पनि अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन आजदेखि (असोज १० गतेदेखि)सुरु हुने र स्थानीय अनुकूलताअनुसार असोज १३ गतेभित्र सम्पन्न गर्ने व्यवस्था गरिएको छ।
क्षेत्रीय अधिवेशनमा मतदाताले एउटै पदका लागि मात्र होइन, फरक–फरक क्लस्टरमा छुट्टाछुट्टै प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था छ। त्यसैले सामान्य मतदाताका लागि सबैभन्दा चासोको विषय हो—कुन क्लस्टरबाट कति जना छानिन्छन् र आफूले कुन–कुन समूहमा मतदान गर्न पाउँछु?
प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा के–के छानिन्छ?
हरेक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। क्लस्टरअनुसार संख्या यस्तो छ :
|
क्लस्टर |
निर्वाचित हुने संख्या |
|
महिला |
४ जना |
|
खुला |
१० जना |
|
युवा |
३ जना (कम्तीमा १ महिला) |
|
समानुपातिक/समावेशी |
१० जना |
|
श्रमिक |
१ जना |
|
पेसागत विज्ञ |
१ जना |
|
अपाङ्गता भएका व्यक्ति |
१ जना |
|
मुस्लिम/अल्पसंख्यक |
१ जना |
|
दलित |
१ जना |
|
प्रजातन्त्र सेनानी/सहिद परिवार/द्वन्द्वपीडित |
१ जना |
|
जम्मा |
३३ जना |
अर्थात्, महाधिवेशन प्रतिनिधिको निर्वाचनमा महिला ४, खुला १०, युवा ३ र समानुपातिक १० मुख्य समूह हुन्। त्यसबाहेक तोकिएका समावेशी समूहबाट एक–एक जना चयन हुनेछन्।
महासमिति सदस्यमा १२ जना
त्यही प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले प्रत्येक निर्वाचन क्षेत्रबाट १२ जना महासमिति सदस्य पनि चयन गर्नेछ। यसको क्लस्टर यस्तो छ :
- महिला — २ जना
- खुला — ५ जना
- ३५ वर्षमुनिका युवा — १ जना
- समानुपातिक/जनसंख्याका आधारमा — ४ जना
- जम्मा — १२ जना
यसरी एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सकिँदा महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य गरी ४५ जना चयन हुने व्यवस्था छ।
क्षेत्रीय कार्यसमितिमा पनि मतदान
मतदाताले प्रतिनिधि मात्र छान्ने होइन, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति पनि निर्वाचित गर्नेछन्। सभापति १, सचिव १, सहसचिव २ र सदस्यतर्फ १८ जना निर्वाचित हुने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले मनोनयन गर्नेछन्।
१८ सदस्यमा प्रदेशसभा क्षेत्र ‘क’ र ‘ख’ बाट एक महिला र दुई खुलासहित ३–३ जना, खुलाबाट एक महिलासहित ४ जना, युवाबाट एक महिलासहित २ जना तथा जनसंख्याका आधारमा समानुपातिक समूहबाट ६ जना निर्वाचित हुने व्यवस्था छ। थप सदस्य मनोनयनको व्यवस्था पनि छ।
प्रदेशसभा क्षेत्रमा चाहिँ कति?
प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ दुवैतर्फ क्षेत्रीय अधिवेशन हुनेछ। त्यहाँ प्रदेशसभा क्षेत्रीय कार्यसमितिका लागि सभापति, उपसभापति र सचिव एक–एक जना तथा सहसचिव दुई जनानिर्वाचित हुनेछन्।
कार्यसमिति सदस्यतर्फ महिला २, दलित १, युवा १, खुला ३ र समानुपातिक ६ जना गरी १३ जनानिर्वाचित हुनेछन्। थप ७ जना मनोनयन गर्न सकिने व्यवस्था छ।
प्रदेश अधिवेशनका लागि एक क्षेत्रबाट २४ जना प्रतिनिधि छानिँदैछन्।
जसमा महिला २, खुला ८, युवा २ (एक महिला), समानुपातिक ६ तथा पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक, दलित र प्रजातन्त्र सेनानी/सहिद परिवार/द्वन्द्वपीडित समूहबाट १–१ जना प्रतिनिधि चयन हुनेछन्।
प्रदेश अधिवेशनका लागि २४ प्रतिनिधि
| प्रतिनिधिको क्लस्टर | संख्या |
|---|---|
| महिला | २ |
| खुला | ८ |
| युवा (एक महिला) | २ |
| समानुपातिक | ६ |
| पेसागत विज्ञ | १ |
| श्रमिक | १ |
| अपाङ्गता भएका व्यक्ति | १ |
| अल्पसंख्यक | १ |
| दलित | १ |
| प्रजातन्त्र सेनानी/सहिद परिवार/द्वन्द्वपीडित | १ |
मौसमले केही ठाउँमा तालिका फेरबदल
अत्यधिक वर्षाका कारण सबै क्षेत्रमा एकै दिन अधिवेशन गर्न कठिनाइ देखिएपछि निर्वाचन समितिले स्थानीय अवस्था हेरेर असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न सकिने व्यवस्था गरेको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मौसममा सुधार आएकाले अधिकांश स्थानमा निर्धारित समयमै अधिवेशन हुने र समस्या भएका क्षेत्रमा एक–दुई दिन सारेर सम्पन्न गरिनेछ।
कांग्रेसको १५औँ महाधिवेशनको आधिकारिक कार्यतालिकाअनुसार प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनपछि जिल्ला र प्रदेश तहका अधिवेशन हुँदै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तयारी छ।
सामान्य मतदाताका लागि मुख्य कुरा : क्षेत्रीय अधिवेशनमा “सबै पदका लागि एउटै ठाउँमा एउटै संख्यामा भोट” होइन, कुन क्लस्टरको मतदाता हो भन्ने आधारमा सम्बन्धित क्लस्टरका उम्मेदवारलाई तोकिएको संख्यामा मतदान गर्ने व्यवस्था हो। त्यसैले मतदानअघि आफ्नो नाम कुन क्लस्टरमा परेको छ र आफूले कति उम्मेदवारलाई मत दिन पाउने हो भन्ने निर्वाचन अधिकृतबाट यकिन गर्नु महत्त्वपूर्ण हुन्छ।











