

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता तथा उद्यमी किरण केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। युवालाई राजनीतिक भाषणभन्दा रोजगारी, उद्यम र अवसरसँग जोड्नुपर्ने एजेन्डा अघि सार्दै केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
‘युवालाई राजनीति र उद्यममा जोड्न सकिन्छ भनेर कांग्रेस केन्द्रीय सदस्य बन्न खोजेको हुँ,’ केसीले भने, ‘राजनीतिलाई उद्यम, व्यवसाय र निजी क्षेत्रसँग जोड्न नेतृत्व तहमा उद्यमीहरू पनि आउनुपर्छ।’
युवा पुस्ता रोजगारीका लागि विदेशिन बाध्य भइरहेको अवस्थामा राजनीतिक दलको प्राथमिकता रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धन हुनुपर्ने केसीको धारणा छ। आफू पार्टीको केन्द्रीय नेतृत्वमा पुगेर युवालाई उद्यम र व्यवसायमा जोड्ने नीतिका लागि काम गर्न चाहेको उनले बताए।
कांग्रेसको जारी महाधिवेशनमा मंगलबार पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता हुँदैछ। केसीले पनि केन्द्रीय सदस्य पदमा आफ्नो मनोनयन दर्ता गर्ने तयारी गरेका छन्।
कास्की क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित केसी बैंकिङ, बीमा, जलविद्युत् तथा निर्माण क्षेत्रमा सक्रिय छन्। उनी ‘केसी ग्रुप अफ कम्पनीज’का निर्देशकसमेत हुन्।
राजनीतिलाई उद्यमसँग जोड्ने र युवालाई रोजगारी तथा अवसर सिर्जना गर्ने एजेन्डासहित केसीको उम्मेदवारीले कांग्रेस महाधिवेशनमा युवा पुस्ताको मुद्दालाई नयाँ बहसमा ल्याउने देखिएको छ।












