0Shares
Screenshot

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्कीबाट केन्द्रीय पदका लागि एक दर्जनभन्दा बढी नेताले उम्मेदवारीको तयारी गरेका छन्। उपसभापति, सहमहामन्त्रीदेखि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यसम्म कास्कीका नेताहरूले दाबी प्रस्तुत गरेका हुन्।

महाधिवेशन नजिकिँदै गर्दा उम्मेदवारी घोषणा र आन्तरिक लबिङ तीव्र बनेको छ। केही नेताले सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गरेका छन् भने केही काठमाडौंमा समूहगत छलफलमा जुटेका छन्।

उपसभापतिमा परियार र चालिसे

उपसभापतिमा कास्कीबाट जीवन परियार र देवराज चालिसे आकांक्षी देखिएका छन्। निवर्तमान सहमहामन्त्री परियारले उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्। १४औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट सहमहामन्त्रीमा निर्वाचित परियार पछिल्लो समय गगन थापा नेतृत्वको समूहमा खुलेका छन्। उनले अन्तिम निर्णय समूहगत छलफलबाट हुने बताएका छन्।

कांग्रेसका वर्तमान प्रवक्ता देवराज चालिसे पनि उपसभापतिका दाबेदार हुन्। १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका चालिसे विशेष महाधिवेशनको हस्ताक्षर अभियानमा सक्रिय थिए। विशेष महाधिवेशनपछि केन्द्रीय सदस्य बनेका उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो। उनले सामाजिक सञ्जालमार्फत उपसभापतिको प्रचार सुरु गरिसकेका छन्।

सहमहामन्त्रीमा बराल, केन्द्रीय सदस्यमा दर्जन बढी

कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले खुला क्लस्टरबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। खुला क्लस्टरमै तिलक रानाभाटले केन्द्रीय सदस्यमा दोहोरिने तयारी गरेका छन्। अल्पसंख्यक/जनजाति क्लस्टरमा देवेन्द्रकुमार शेरचनको नाम चर्चामा छ।

केन्द्रीय सदस्यमा आदिवासी–जनजाति क्लस्टरतर्फ मिनबहादुर गुरुङ (मिन गुरुङ), युवा उद्धमी किरण केसी तथा महिला क्लस्टरतर्फ लक्ष्मी पाण्डे, नम्रता बराल र सरिता तिमिल्सिना पंगेनीलगायतले उम्मेदवारी दिने घोषणा गरेका छन्। युवा क्लस्टरतर्फ सौगात थापा र यमकृष्ण पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन्।

केन्द्रीय निर्वाचन समितिको तालिकाअनुसार असोज २० गते मंगलबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। असोज २१ गते अन्तिम नामावली प्रकाशन र प्रचारप्रसार हुनेछ। असोज २२ गते राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान हुनेछ। गण्डकी प्रदेशको मतदान प्रज्ञा भवन, कमलादीमा हुनेछ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected