
१३२ दाताबाट १ करोड ४ लाख ८५ हजार सहयोगको विवरण, ३५ लाख प्रतिबद्धता; प्रदेश सरकार र सरकारी कार्यालयबाट पनि सहयोग
पोखरा । बाढीले सडक बगाएपछि पुनर्निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले सहयोगको आह्वान गर्यो। सरकारी निकायदेखि निजी क्षेत्र र सर्वसाधारणसम्मले हातेमालो गरे। त्यही सहयोगको बलमा क्षतिग्रस्त सडक पुनर्निर्माणको काम अघि बढ्यो। गाउँपालिकाका अनुसार हालसम्म १ करोड ९८ लाख रुपैयाँ बराबरको काम सम्पन्न भएको छ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा आइतबार आयोजित सार्वजनिक सुनुवाइमा गाउँपालिकाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माणमा प्राप्त सहयोग, खर्च र प्रगतिको विवरण सार्वजनिक गरेको हो। कार्यक्रममा पुनर्निर्माणमा सहयोग गर्ने दाता तथा संस्थालाई सम्मानसमेत गरिएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालका अनुसार सडक पुनर्निर्माणका लागि १३२ दाताबाट १ करोड ४ लाख ८५ हजार ४ सय ९८ रुपैयाँ सहयोगको विवरण प्राप्त भएको छ। यसमध्ये ७९ लाख ८५ हजार ४ सय ९८ रुपैयाँ गाउँपालिकाको खातामा जम्मा भएको छ भने ३५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता आएको छ।

यसका अतिरिक्त गण्डकी प्रदेश सरकारबाट ४५ लाख रुपैयाँ र सिँचाइ आयोजना व्यवस्थापन कार्यालयबाट ५ लाख रुपैयाँ बराबरको तारजाली प्राप्त भएको बरालले जानकारी दिए। नगद सहयोग, सरकारी स्रोत र सामग्रीको उपयोग गर्दै पुनर्निर्माणको काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ।
गत साउनमा मोदी खोलामा आएको बाढीले बिरेठाँटी क्षेत्रमा करिब एक सय मिटर कालोपत्रे सडक कटान गरेको थियो। सडक बगाएपछि बिरेठाँटी–घान्द्रुक सडकको सम्पर्क विच्छेद भएको थियो। यसबाट स्थानीय बासिन्दाको आवागमन प्रभावित हुनुका साथै पर्यटकीय गन्तव्य घान्द्रुक जाने यात्रुलाई समेत सास्ती भएको थियो।
सडक पुनर्निर्माणका लागि गाउँपालिकाले विपद् व्यवस्थापन कोष स्थापना गरी सहयोगको अपिल गरेको थियो। त्यसपछि विभिन्न व्यक्ति, संघसंस्था, सरकारी निकाय र निजी क्षेत्रबाट सहयोग जुटेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले विपद्का बेला सहयोग गर्ने गण्डकी प्रदेश सरकार, नेपाली सेना, हाइड्रोपावर कम्पनी, व्यक्तिगत दाता, संघसंस्था तथा अन्य सहयोगीप्रति आभार व्यक्त गरे। पुनर्निर्माणलाई गति दिन प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक टोली र कर्मचारीले गरेको प्रशासनिक तथा प्राविधिक योगदानको पनि उनले प्रशंसा गरे।
कार्यक्रममा उपाध्यक्ष चन्द्रकला देवकोटा, वडाध्यक्षहरू तथा दाताका प्रतिनिधिले विपद्का बेला प्राप्त सहयोगले सडक पुनर्निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताए।
नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक अन्नपूर्ण क्षेत्रका बासिन्दाको दैनिक आवागमन र पर्यटनका दृष्टिले महत्त्वपूर्ण छ। घान्द्रुक जाने पर्यटकका लागि समेत यो प्रमुख पहुँचमार्ग हो। सडकमा क्षति पुग्दा स्थानीय जनजीवन र पर्यटन गतिविधिमा प्रत्यक्ष असर पर्ने भएकाले पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ।







