0Shares

काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी मात्रै भएको बताउनु भयो ।

प्रतिनिधिसभाको बैठकमा संयोजक डा. भट्टराईले सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयमले आफैमाथि न्याय नगरेको बताउनुभयो । अर्धनिन्द्रामा भएको मान्छेले लेखे जस्तो देखिएको भन्दै उहाँले बजेटका सिद्धान्त र प्राथमिकतामा बैचारिक अलमल र अस्पष्टता रहेको बताउनुभयो । उहाँले बिरालो बाँधेर श्राद्ध गरे जस्तो गरि सरकारले बजेटका प्राथमिकता र सिद्धान्त निर्धारण गरेको बताउनुभयो । संघीयताको कार्यान्वयन भईसक्यो भन्ने भनाई सही नभएको भन्दै नीति तथा कार्यक्रममा जस्तै सिद्धान्त र प्राथमिकतामा चालु आर्थिक वर्षका बारेमा सरकारले गरेको विश्लेषण तथ्यसँग मेल नखाएको बताउनुभयो । संघीयता कार्यान्वयनको सिंगो पक्ष बाँकी नै रहेको तथा संविधान संशोधनको औचित्यता छैन सबै सहमत भईसके नीति तथा कार्यक्रममा सरकारको दम्भ देखिएको बताउनुभयो । व्यापार घाटा बढेको अवस्थामा निर्यातमा सुधार आएको विषय सत्य नभएको पनि दाबी गर्नुभयो ।

उहाँले पूँजीको राम्रो परिचालन नगरिकन बिकासमा फड्को मार्न नसकिने भन्दै आन्तरिक पूँजी परिचालनलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने तर्क गर्नुभयो । परम्परागत अर्थतन्त्रलाई विकासको गतिमा अघि बढाउने हो भने जमीनमा आश्रित सम्पत्तिको ढाँचामा सुधार ल्याउनुपर्ने सुझाव दिनुभयो । जग्गामा दलालि गरि कमाउने प्रवृत्ति रोक्नका लागि रजिष्ट्रेशन शुल्क बढाउन र पैत्रिक सम्पत्तिमाथिको कर वृद्धि गर्न उहाँले सुझाव दिनुभयो ।

नेकपाका सांसद् एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आधार तयार नभएका आयोजनामा बजेट विनियोजन गर्दा लागत बढ्ने र त्यस्ता आयोजनाले प्रतिफल दिननसक्ने बताउनुभयो । उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद राजेन्द्र श्रेष्ठले आगामी आर्थिक वर्षले बजेटमार्फत तीब्र आर्थिक बृद्धि हुने कार्यक्रम ल्याउनुपर्ने, कृषि, पर्यटन र ऊर्जालाई प्रमुख आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected