२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबरमुख्य खबर

सञ्चारमाध्यमले कोभिड–१९ को समाचार प्रकाशन प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको परिचय गोप्य राख्नुपर्छ

–भीष्मराज ओझा

काठमाडौँ, १५ चैत्र \ सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्ने व्यवस्थासहितको निर्देशिका जारी गरिएको छ । प्रेस काउन्सिल नेपालले कोरोना भाइरसको सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा अपनाउनुपर्ने सावधानी र निर्वाह गर्नुपर्ने दायित्वका सम्बन्धमा उक्त निर्देशिका हालै जारी गरेको हो ।

निर्देशिकाअनुसार कोरोना भाइरसको शङ्का भएकाको परिचय गोप्य राख्नुपर्छ, सङ्क्रमित व्यक्तिलाई नकारात्मक असर पार्नसक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन । सङ्क्रमित व्यक्तिको सचेत स्वीकृति र सम्बन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिकसमेत गर्नु हुँदैन ।

यसैगरी पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्रीमात्र सम्प्रेषण गर्नुपर्छ । पत्रकार तथा सञ्चारमाध्यमले सामाजिक सञ्जालमार्फत प्रवाह गर्ने कोरोना सङ्क्रमणसम्बन्धी समाचार, लेख, सूचना वा जानकारी मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ । साथै सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार, जानकारी वा लेख र प्रतिक्रियालाई शेयर, लाइक वा रिट्विट गरी पुनः प्रकाशन गर्दा पत्रकार तथा सञ्चारमाध्यमले आफूले प्रकाशन गरेसरह आधिकारिकता समेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्नु हुँदैन । निर्देशिकाअनुसार कुनै पनि सङ्क्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण हुनु हुँदैन । जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक अवस्था जस्ता कुनै पनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नु हुँदैन ।

पत्रकार तथा सञ्चारमाध्यमले कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लालाई स्थान दिनु हुँदैन । पाठक, श्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनुपर्ने निर्देशिकामा जनाइएको छ ।

त्यस्तै पत्रकार तथा सञ्चारमाध्यमले सङ्क्रमित व्यक्तिका नातेदार वा नजीकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्ने गरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नु हुँदैन । सङ्क्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरूसमेत सम्प्रेषण गर्नु हुँदैन ।

पत्रकार तथा सञ्चारमाध्यमले प्रवाह गरेका कोरोना सङ्क्रमणसम्बन्धी समाचार सामग्रीमा कुनै पनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चारमाध्यमबाट सार्वजनिक जानकारी गराउनुपर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्याउन दिएको निर्देशनको तत्काल पालना गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।

निर्देशकाको पालना गरे÷नगरेको प्रेस काउन्सिलले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधित–२०७६) अनुसार आवश्यक कारवाही गर्न सक्नेछ । नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिलले सबै सञ्चारमाध्यम र सञ्चारकर्मीलाई लागू हुनेगरी महामारीलगायत जनस्वास्थ्यसँग सम्बन्धित समाचार सम्प्रेषण निर्देशिका २०७६, यही चैत १० गते जारी गरेको हो । महासङ्का केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले महामारी र विपद्का बेलामा फैलन सक्ने हल्ला र भ्रमप्रति सचेत रहेर सञ्चारमाध्यम र पत्रकारले यस्तो बेलामा विश्वनीय समाचार सम्प्रेषण गर्नका लागि यो निर्देशीका सहयोगी हुने बताउनुभयो । प्रेस काउन्सिलले हालै मात्र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा आचारसंहिता र निर्देशिका विपरीत कोरोना भाइरस सङ्क्रमणसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गर्ने दर्ता नै नभएका करीब दुई दर्जन वेबसाइटहरु बन्द गरिसकेको छ । यसबाहेक विभिन्न ३२ सञ्चारमाध्यमलाई आचारसंहिता विपरीतका समाचार सामग्री हटाउन लगाई २४ घण्टे स्पष्टीकरण सोधिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो ।(रासस)

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…