311Shares

प्रकाश अधिकारी
किर्तिपुर, । सडकनै विकासको मूल आधार हो । यसले शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कृषि र समाजका यावत पक्षको उन्नतिको ढोका खोल्दछ । त्यसैले सडक, बाटाघाटा र पुलपुलेसोलाई हाम्रो समाज र देशको विकासको शुरुआत मानिन्छ । यद्यपि यो भनाइ र गराइमा फरक छ । एकथरी विकास भन्छन गर्दैनन् । समाजमा अर्कोथरि हुन्छन जो साँच्चै विकास भन्छन र आफै जागरुक भएर, स्रोतसाधन जुटाएर र सहयोगी हात फैलाएर काम गरेर पनि देखाउँछन । यस्तो विकासको काम सानोतिने कामको शुरुआतबाट पनि हुन सक्छ ।

विकासको लागि चियापसल, चोक र जथाभावी गफको गुडडी हाँक्नेहरुले सिन्को भाँच्न सक्दैनन् । खाली सरकार र अरुको मुख ताक्नेहरुले पनि कुनै काम गर्न सक्दैनन । यस्तो प्रवृत्तिलाई चुनौति दिँदै यस क्षेत्रका मानिसहरु आफै जागरुक, सक्रिय र स्रोत साधन जुटाएर आफनो ठाउँ आफै बनाऔ भनेर सकारात्मक सोच सहित अघि बढेर विकासको नमूना देखाएका छन् । स्थानीय जागरुक भएर विकासको बाटोमा अग्रसर भएको एउटा गतिलो उदाहरण किर्तिपुर ४ र चन्द्रागिरि ९ का वासिन्दाले प्रस्तुत गरेका छन् ।


चन्द्रागिरि र किर्तिपुरको सिमानामा पर्ने टुसाल आयटारदेखि कुमारीबस्ती हुदै अधिकारी टोलसम्मको १६ फिट सडकको निर्माणमा जुटेका स्थानीय समुदाय सहरी विकास तथा भवन निर्माण विभागको परियोजन र किर्तिपुर नगरपालिकाको सिफारिशमा बाग्मती प्रदेशसरकारबाट प्राप्त सहयोगबाट करिब ५ सय मिटर दाँया बायाँ पर्खाल बनाउन सफल भएका छन् । साथै करिब एक सय १३ मिटर ढलान गरी बाँकी भागमा ग्राभेलको काम सकिएको छ । सो काम स्थानीय समाजसेवी  टोलसुधार समितिका पूर्व अध्यक्ष अच्यूत अधिकारीको अगुवाईम भएको बताइएको छ । स्थानीय वासिन्दाको अहोरात्र श्रमदान, रेखदेख र स्रोतसाधन जुटाएर पानीको पाइप र ग्राभल बिच्छयाउने काम सम्पन्न गरिएको छ ।

फोटो : बिबि बराली

त्यसलगत्तै स्थानीयको सक्रिताबाट प्रभावित भएर स्थानीयवासीसमेत रहेका पुर्व मन्त्री कल्पना धमला र किर्तिपुर नपा ४ का वडाअध्य राजेन्द्र बानियाँको पहलमा सङ्घीय सांसद राजन केसीले सांसद विकास कोषबाट दुई करोड २५ लाख रुपैया ग्राभेल सडकलाई नालीसहित बनाएर पक्की गराउन सहयोग गर्नुभएको छ । साथै तल्लो आयाटारबाट माथिल्लो आयाटारसम्म करिव १.५ किमि २५ फिट चौडाइ सडक पक्की बनाउनको लागि बजेट विनीयोजन गरी निर्माण कामको शुरुआत गरिएको छ ।

उक्त सडक निर्माणको लागि किर्तिपुर नपा ४ का वडाध्यक्ष राजेन्द्र बानियाँ, चन्द्रागिरी ९ का वडाध्यक्ष देवेन्द्र मर्हजन, स्थानीय समाजसेवी श्याम अधिकारी, कुमारी बस्तिटोल सुधार समितिका अध्यक्ष सानुभाई विष्ट, पुर्व गाविस अध्यक्ष ज्ञानबहादुर गोपालीका साथै सडकसँग सरोकारवाला अन्य स्थानीयहरुको रोहवरमा बाटोको सीमाना छुट्याइ निमार्ण कार्य शुरु गरिएको थियो । बाटो निर्माण शुरुआत कार्यमा किर्तिपुर नपा ४ का वडाध्यक्ष राजेन्द्र बानियाले बाटो बन्नु भनेको आफ्नै ठाउको विकास हुनु हो भन्नुभयो । “त्यसैले विकासको विरोध गर्नुभन्दा विकासमा जुटेर अगाडि बढ्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । बानियाँले स्थानीयको सक्रिताले गर्दानै बाटोको सीमांकन गर्न सहज भएको र बाटोको लागि अहिले केही जग्गा गएतापनि भविष्यमा त्यसको विशेष लाभ आफैलाई हुने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै चन्द्रागिरि ९ का वडाध्यक्ष देवेन्द्र महर्जनले स्थानीयको सक्रियताले कुनैपनि काम सजिलै गर्न सकिने र आगामी दिनमा के कस्तो सहयोगको आवश्यकता पर्छ त्यसका लागि आँफू सधै तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । कुमारी बस्ती टोल सुधार समितिका सचिव दिलबहादुर अधिकारीले आफ्नो ठाउँ आफै बनाउन कम्मर कसे कुनै पनि काम असम्भव हुँदैन भन्नुभयो । “लकडाउनको समयमा पनि सामाजिक दूरी कायम गर्दै काम गर्दै आइरहेका छौँ, बाटोका लागि जग्गा उपलब्ध गराउनुहुनेहरुलाई विशेष धन्यवाद छ, आगामी दिनमा सामाजिक कार्यमा तपाईहरुको सहभागिताको लागि अनुरोध छ”, सचिव अधिकारीले भन्नुभयो ।

स्थानीयको सहभागितामा भएको सक्रियताको प्रशंसा गर्दै स्थानीय विनोद देवकोटाले समाजमा काम गर्दा केही अप्ठयारो भएपनि विकासको महत्व बुझेपछि त्यो सहज पनि हुने धारणा व्यक्त गर्नुभयो । “ बाटोको महत्व बुझेपछि यहाँका स्थानीय बीच राम्रो एकता भएको र त्यही एकतालेनै काम भएको छ”, देवकोटाले भन्नुभयो ।

त्यस्तै धारणा स्थानीय समाजसेवी श्याम अधिकारीको पनि छ । “बाटो भनेकै विकासको मुल आधार भएकोले बाटो बनाउनकै लागि आफुले पहिले पनि व्यक्तिगत खर्च गर्दै आएको र अवको दिनमा विकासको लागि सहयोग गर्न म पछि पर्दिन”, अधिकारीको भनाइ थियो ।

311Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected