
पोखरा, २३ मंसिर । कोभिड–१९ को संक्रमणसँगै उत्पन्न विषम परिस्थितिका कारण थिलोथिलो भएको पर्यटनलाई जगाउने उद्धेश्यले पश्चिमाञ्चल होटल संघ पोखराले बुधबारबाट जाउँ है पोखरा अभियान २०७७ लाई पुनः अगाडि बढाउने भएको छ । खासगरी आन्तरिक पर्यटनलाई पुनःउत्थान गर्ने उद्धेश्यले नेपाल पर्यटन बोर्डसँग मिलेर यस्तो अभियानलाई निरन्तरता दिन लागिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । यही मंसिर २४ देखि २७ गतेसम्म संचालन हुने अभियान अन्तर्गत जनकपुर, पर्सा, विरगंज, विराटनगर र चितवनलाई समेटिएको उनले सुनाए । अभियान अन्तर्गत पत्रकार सम्मेलन तथा प्रदेशस्तरीय र स्थानीय सरकारी तथा गैरसरकारी अधिकारीहरुसँग अन्तरक्रिया कार्यक्रम हुने अध्यक्ष तुलाचनले स्पष्ट पारे ।

विभिन्न बर्ष र विभिन्न चरणमा पूर्वी नेपाल देखि सुदुर पश्चिम सम्म नै यात्रा गरी अभियानलाई विगतमा पनि संघले प्रभावकारी रुपमा संचालन गरेको थियो । जाउँ है पोखरा अभियानले नेपालमा आन्तरिक पर्यटनको माहोल सृजना गर्न सफल भए पनि अहिले कोरोना भाइरसका कारण पर्यटन ठप्पजस्तो हुन पुगेको अवस्थामा अभियान अगाडि बढाउन लागिएको हो ।











