२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबरदेशमुख्य खबरविज्ञान प्रविधिस्थानिय समाचार

काठमाडौं महानगरले थाल्यो आकाशे पानी संकलन र पानी पुनर्भरण अभियान

काठमाडौं, ११ साउन । देशको राजधानीलाई पानी संकटमुक्त पारी पर्याप्त पानी उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले आकाशे पानी संकलन र पानी पुर्नभरण अभियान सञ्चालन गरेको छ ।

खानेपानी तथा सरसफाईको क्षेत्रमा उपलब्ध ज्ञान,सीप,प्रविधि र अनुभवलाई उपयोगमा ल्याएर नेपालीहरुलाई सहज रुपमा स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले स्थापित स्मार्ट वास सोलुसन्सले स्मार्ट पानी र काठमाडौं  महानगरपालिकाको सहकार्यमा हालैआयोजना गरेको बर्षातको पानी संकलनका मुद्दा, चुनौती र आगामी मार्ग विषयक वेबिनारमा काठमाडौं नगर आयोगका सहविज्ञ जयश्री राजभण्डारीले सो जानकारी दिनुभएको हो । उहाँले राजधानीमा ल्याइएको मेलम्चीको पानीले पनि यहाँको माग नधान्ने बताउदै भन्नुभयो,“अहिले नै काठमाडौंमा खानेपानीको माग दैनिक ४५ करोड लिटर जति छ ।मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउदा पनि दैनिक २८ करोड लिटर पानी कमी हुन जान्छ ।  यसको आपूर्तिको लागि वैकल्पिक स्रोत खोज्नै पर्दछ ।”
उहाँले काठमाडौं उपत्यकामा साना ठूला खोला र नदीहरु प्रशस्त रहेको र परम्परागत पानीको स्रोत मानिएका ढुंगेधारा,कुवा,इनारका साथै भूमिगत पानीको उपयोगबाट त्यस्तो अभाव पूर्ति गर्नुपर्ने अवस्था रहेकोले बर्षातको पानीको उपयोग र पुनर्भरण गर्ने अभियान थालिएको बताउनुभयो । उहाँले पानीको वर्तमान तथा भावि संकटलाई दृष्टिगत गरेर महानगरले २०७६।७७ देखि काठमाडौं पुनर्भरण अभियान सुरु गरेको पनि जानकारी दिनुभयो ।
यस अभियान अन्तरगत गोंगबू रानीबारी पुनर्भरण आयोजना सम्पन्न भैसकेको छ भने स्वयम्भू भुईखेलको पोखरी पुनस्थापना गरिएको छ । त्यस्तै राजधानीको मध्यभागमा रहेका कमलपोखरी मर्मत र पुनःस्थापनाको काम हुँदैछ भने रानी पोखरी मर्मत पूरा भएको छ । नारायणहिटीको दक्षिणमा रहेको हिटी पोखरी र पूर्वतर्फ रहेको नक्सालको नागपोखरी पनि संरक्षण थालिएको छ ।

यो पुनर्भरण आयोजना अन्तरगत कमल पोखरीलाई बर्षातको भलबाढीको पानीलाई छानेर पोखरीमा जम्मा गर्ने विधि अपनाइएको छ ।

महानगरपालिकाले पानी पुनर्भरण अवधारणा अवलम्बन गरी कमलपोखरी,बाँसबारी इको पार्क, बागमती नगरपार्क, धान्यू चित्तपार्क, कुलेश्वर बुद्ध विहार, लगन पार्क, शान्ति नमूना पार्क र टुँडालदेवी पार्कको विकास र संरक्षणको कार्य थालेको पनि उहाँले बताउनुभयो ।

महानगरपालिकाले नन्दी रात्री विद्यालय र वडा नं ५ मा आकाशे पानी संकलन प्रणाली उपयोगमा ल्याइसकेको छ ।

महानगरले पानी पुनर्भरणका कार्यक्रम सञ्चालन गर्न पुराना ढुंगेधाराहरुको स्थान अवलोकन, मर्मत संभारको कार्य पनि थालेको छ । महानगरभित्र रहेका १ सय ५६ यस्ता धाराहरुमध्ये ५७ मासिएका पाइए भने ९९ वटा भेटिएका छन् । भेटिएका मध्ये ४ वटामा पाइपको पानी पठाएर र १४ वटामा पानी ट्यांकी राखेर सञ्चालनमा ल्याइएको छ ।

महानगरले खानेपानीको स्रोत संरक्षणको लागि पुनर्भरण इनारको स्थापना, पानी बगैचा(वाटर गार्डेन) र जमिनको भित्री तहमा पानी पठाउन पाइप प्रणालीको उपयोग गर्दै आएको छ ।

महानगरले पुनर्भरण कार्यक्रम सञ्चालनका लागि आफ्नो क्षेत्रभित्र भएका खानेपानी ट्वीवेल,ह्याण्ड पम्प, निजी तथा सार्वजनिक इनार र ढुंगेधारा तथा सार्वजनिक स्थानहरुको नक्सांकन पनि गरिरहेको छ ।
चेन्नाईको अनुभव

कार्यक्रममा भारतको तामिलनाडुको चेन्नईको बर्षा केन्द्र(रेन सेन्टर)का डा. शेखर राघवनले बर्षातको पानीलाई घरको छतमार्फत संकलन गर्ने र सतहमा परेपछि बग्ने क्षेत्रमा समुचित प्रविधिको माध्यमबाट संकलन गरी तात्कालिक र दीर्घकालिक आवश्यकता आपूर्ति गर्न सकिने बताउनुभयो ।

उहाँले बर्षाको पानीलाई ताजा पानीको स्रोत बताउदै बर्षमा  दुईदेखि  तीन महिना पर्ने पानीको संकलन र भण्डारणबाट बाँकी ९ देखि १० महिनाको आवश्यकता पूरा गर्न सकिने बताउनुभयो ।

पानीको पहिलो दर्कोले धुलो मैलो पखाल्ने भएकोले त्यस्तो पानीलाई ड्रेनपाइपको अर्कोतिर संकलन हुनेगरी पछि परेको पानी त्यसमाथिबाट समानान्तर पाइपबाट ट्यांकीमा जान मिल्ने गरी संकलन गर्न सकिने बताउनुभयो । समुचित तरिकाले पानी संकलन गर्दा दैनिक उपयोगमा आउने एउटै इनारमा बर्षाको पानी सीधै खसालेर उपयोग गर्न पनि सकिने उहाँले बताउनुभयो ।

उहाँले सार्वजनिक ठाँउहरुमा बर्षातमा परेको पानी जम्मा गरेर पुनर्भरण गर्ने इनार खनेर शहरहरुलाई भूमिगत पानी तानेर हुने सुख्खापनबाट जोगाउन सकिने बताउनुभयो । उहाँले यसका लागि इनार,पोखरी,वाटर गार्डेन र पाइप रिचार्ज प्रणालीको स्थापना उपयुक्त हुने बताउनुभयो ।

उहाँले चेन्नाईमा भवन निर्माणका लागि बर्षातको पानी संकलनको प्रावधान अनिवार्य गरिएको भएपनि प्रोत्साहनको रुपमा कुनै अनुदान नदिएको बताउनुभयो । अनुदानले भ्रष्टाचार निम्त्याउने उहाँको कथन थियो ।
विद्यालय र अस्पतालमा अपरिहार्य

कार्यक्रममा स्मार्ट पानीका अनिशा कर्णले नेपालमा बर्षातको समयमा पर्याप्त पानी पर्ने भएकोले सो पानी संकलन गरेर हिउँदको सुख्खा याममा उपयोग गर्न सकिने प्रशस्त संभावना रहेको बताउनुभयो ।

उहाँले नेपालका २९ जिल्लाहरुमा आफ्नो संस्थाले आकाशे पानीको संकलन,प्रशोधन र उपयोगिताको कार्यक्रम सञ्चालन गरेको पनि बताउनु भयो । खासगरी सार्वजनिक विद्यालय र अस्पतालहरुमा वर्षाको पानी संकलन र उपयोग अपरिहार्य रहेकोले सरकारी स्तरमा ती संस्थामा यसलाई प्रोत्साहित गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा त्रिचन्द्र क्याम्पस युथ रेडक्रस सर्कलकी सपना रेग्मीले त्रिचन्द्र क्याम्पसको बर्षातको पानी संकलनबाट रानीपोखरीमा भएको पानी पुनर्भरण कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले यो अनुभव अन्यत्र पनि उपयोग गर्न सकिने दावी गर्नुभयो ।

कार्यक्रममा पूर्वसचिव ई.किशोर थापाले प्रस्तुत भएका कार्यपत्रमाथि टिप्पणी गर्दै प्रकृतिले सबैलाई पानी उपलब्ध गराएको तर त्यसको व्यवस्थापन गर्न नजान्दा बर्षामा बाढी पहिरो र हिउँदमा खानेपानीको समेत अभाव हुने गरेको बताउनुभयो ।
उहाँले पोखरी,तलाउ,चेक ड्याम, गहिरो इनार र छिद्रयुक्त(पोरस) पाइपको माध्यमबाट पानीको पुनर्भरण गरेर सतह र जमिनमुनिको पानीको पुनर्भरण गर्न सकिने बताउनुभयो ।

पूर्वसचिव थापाले पानीको समुचित व्यवस्थापनको लागि बृक्षारोपण र सिंचाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले बर्षातको पानी संकलन र उपयोगितालाई ढल निकास र प्रशोधनसम्म जोड्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रकट गर्दै पूर्वमन्त्री गणेश साहले प्रकृतिले सित्तैमा दिएको स्वच्छ पानीको उपयोग गर्न नजानेर नेपालका धेरै स्थानमा पानीको संकट आएको बताउनुभयो । उहाँले सित्तैमा पाइने यो अमूल्य  स्रोतको उपयोग गरेर लाभ लिन सबैलाई आग्रह गर्नुभयो । उहाँले आकाशबाट आएको पानी एकथोपा पनि खेर जान दिन नहुने बताउनुभयो । उहाँले बर्षातको पानी व्यवस्थापनले नेपाल र भारत दुवैलाई बाढी नियन्त्रणको फाइदा पुग्ने पनि बताउनुभयो । संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माको सहजीकरणमा भएको वेबिनारको सञ्चालन स्मार्ट वासकी निर्देशक गिरिजा दाहालले गर्नुभएको थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…