21Shares

पोखरा, ६ आश्विन। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निमन्त्रणमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टोली बुधबार पोखराको भ्रमणमा आएको छ । मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा उनीहरुबीच औपचारिक भेटवार्ता समेत भएको छ ।
भेटवार्तामा गण्डकीका मुख्यमन्त्री पोखरेलले संविधानत मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि स्थापित प्रदेश सरकारले जनताको चाहना बमोजिमको सेवा तथा विकास प्रवाह गर्न धेरै चुनौतीहरुको सामना गर्नु परेको बताए । ‘अधिकारको निक्षेपणमा संघीय सरकारको मानसिकता अझै पनि केन्द्रीकृत नै देखिन्छ । त्यसैले आगामी दिनमा हाम्रा बीचको सहकार्य अझ घनिभूत बनाउन आवश्यक छ,’ उनले भने । राजश्वको बाडफाँटमा केन्द्रले धेरै राखेर प्रदेशलाई उपलब्ध गराउने गरेको सानो अंशले हाम्रा विकासका आवश्कताहरु पूरा हुने अवस्था छैन भन्दै उनले यसको वृद्धिको पहल गर्नुपर्ने बताए ।
नेपाल सरकारले कर्मचारी समायोजनमा पर्याप्त भूमिका नखेलेको, शान्ति सुरक्षा लगायतका मुख्य काममा प्रदेशलाई अधिकार नदिएकाले प्रदेश सरकार चाहेर पनि काम गर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ । उनले ठूला विकासका कार्य अघि बढाउन जग्गा प्राप्तिको समस्या, विकास निर्माणमा वाधक विभिन्न कानुनी व्यवस्था आदिको सुधार तथा संशोधनमा पनि केन्द्र सरकारले ध्यान नदिएको बताए ।
ठूूला विकास साझेदारको स्रोत परिचालन केन्द्रबाट हुने गरेको भन्दै उनले यसमा प्रदेशको संलग्नता वृद्धि हुनु पर्ने मुख्यमन्त्री पोखरेलले बताए । अन्तर प्रदेश समन्वय परिषदको बैठक नियमित बस्ने र समस्याको समाधान निकाल्नेतर्फ पनि घच्घच्याउनु उनले जोड दिए ।
साझा सरोकारका विषयमा समय समयमा मुख्य मन्त्रीहरु बीच छलफल गरी अनुभव तथा सहयोगको आदान प्रदान तथा संघीयताको प्रवद्र्धनका लागि स्पष्ट धारणा बनाउनु आवश्यक रहेको मुख्यमन्त्री पोखरेलले बताए । ‘सबै प्रदेशका मुख्य मन्त्रीज्यूहरुसँग समन्वय गरी उपयुक्त समयमा मुख्यमन्त्रीहरुको छलफल कार्यक्रम पोखरामा आयोजना गर्न इच्छुक रहेको व्यहोरा पनि अनुरोध गर्दछु’ उनले भने ।
उनले गण्डकी प्रदेश र प्रदेश २ का बीचमा धेरै समानता र सहकार्यको सम्भावना रहेको बताए ।
पर्यटन प्रवद्र्धनमा प्रदेश २ का सास्कृतिक धरोहरुहरु जानकी मन्दिर, गढीमाईको मन्दिर र मेला, छिन्नमस्ता मन्दिर, सहलेस फूलबारी, धनुष क्षेत्र, जलेश्वरनाथ महादेव आदिजस्ता स्थल रहेको स्मरण गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा आएका पर्यटकलाई प्रदेश २ र प्रदेश २ मा आएका पर्यटकलाई गण्डकी प्रदेशमा जानका लागि अभिप्रेरित गर्ने कार्य निजी क्षेत्रको अगुवाईमा अगाडि बढाउन सकिने भनाइ राखे ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई मजबुत बनाउन आफूहरुले निकै संघर्ष गर्नुपरेको बताए । साढे २ वर्ष अगाडि पोखरामा मुख्यमन्त्रीहरुको सम्मेलन भएको स्मरण गर्दै उनले त्यो सम्मेलनले उठाएका सबाललाई सम्बोधन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तर्सेको बताए । उनले केन्द्र र ६ प्रदेशमा कम्युनिस्ट पार्टीकै सरकार रहेको अवस्थामा अधिकार हस्तान्तरण गर्न सहज नहुँदा पनि त्यतिबेला प्रधानमन्त्रीज्यू प्रदेशका कुरा नसुनेपछि अधिकारकै लडाइँका क्रममा आफूहरु संघ सरकारसँग मुद्दा लडिरहेको बताउँदै अधिकार नपाएसम्म संघर्ष जारी जानकारी दिए ।
भौतिक विकास मात्र नभएर सामाजिक रुपान्तरण हुनुपर्छ भनेर प्रदेश सरकारले महिला जागरण, बालिका सशक्तिकरण, सरसफाइजस्ता अभियान थालेको उनले बताए । विकासका सवालमा प्रदेश नम्बर २ र गण्डकीमा फरक रहेको भन्दै अनुभव आदानप्रदान गर्दै सहकार्य गर्नुपर्नेमा जोड दिए । सांस्कृतिक सहर जनकपुर र पर्यटकीय सहर पोखराबीच हवाई सम्बन्ध कायम गरी भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने उनको भनाइ थियो ।
कार्यक्रममा गण्डकी सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, पर्यटन, उद्योग तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव डा। दामोदर रेग्मी, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्ले, मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोला, गण्डकी र प्रदेश नम्बर २ का पर्यटन व्यवसायी सहभागी थिए ।
गण्डकीका मुख्यमन्त्री पोखरेलको निमन्त्रणमा पोखरा आएको प्रदेश नम्बर २ का मुख्यमन्त्री राउत नेतृत्व टोलीले ३ दिन यस क्षेत्रमा बिताउनेछ । बुद्ध एअरले पोखरा सिमरा उडान सुरु गर्दाको दिनमा गण्डकीका पर्यटन मन्त्री कँडेल नेतृत्वको टोली प्रदेश नम्बर २ गएको थियो । त्यतिबेलै मन्त्री कँडेलले मुख्यमन्त्री राउतलाई निमन्त्रणा गरेका थिए । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गरिएको यो कार्यक्रमको संयोजन नाट्टा गण्डकी प्रदेशले गरेको छ । नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले ३ दिनको अवधिमा मुख्यमन्त्री राउतसहितको टोलीलाई पोखरा र आसपासका मुख्य पर्यटकीयस्थलको अवलोकन गराइने बताए । नाट्टा गण्डकी महासचिव कमला गिरीका अनुसार बिहीबार बिहान दुवै प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
बुधबार दिउँसो पोखरा विमानस्थलमा अवतरण गरेको प्रदेश नम्बर २ का मुख्यमन्त्री राउतसहितको टोलीलाई गण्डकीका पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेलले स्वागत गरेका थिए ।

21Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected